निलम्बन नेपालका लागि अवसर, पारस खड्काक्रिकेट


काठमाडौँ, अप्रिल २७।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरे पनि नेपाली खेलाडी र खेलप्रमीले यो नेपालका लागि नयाँ अवसर बन्न सक्ने बताएका छन् ।

निलम्बनलाई लिएर सरोकारवालाहरु (राष्ट्रिय खेलकुद परिषद्, तदर्थ समिति र निर्वाचित समिति) बीच आरोप÷प्रत्यारोप सुरु भए पनि नेपाली क्रिकेटका लागि नयाँ अवसर बन्ने र क्रिकेटले फड्को मार्न सक्ने खेलाडीहरुको आँकलन छ ।

नेपाललाई आईसीसीले गरेको निलम्बन सकारात्मक र क्रिकेटका लागी नयाँ अवसरको सुरुवात भएको उनीहरुको भनाई छ ।

“आईसीसीको यो कदम नेपाली क्रिकेटका लागी दुःखद हो, जे हुनु थियो त्यो भएरै छाड्यो,” बाह्रखरीसँग कुरा गर्दै राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भने, “तर, आईसीसीले नेपाली क्रिकेटका सरोकारवालाहरुसँग छलफल गरेर अघि बढ्छु भनेको छ । हाम्रो लागि यो नयाँ सुरुवात हो । हामीले यसलाई अवसरको रुपमा लिएर अघि बढ्न सक्नुपर्छ ।”

क्यानमाथि प्रतिवन्ध लगाएको जनाएपनि नेपाली क्रिकेटलाई अब कसरि अघि बढाउने भन्ने आइसीसीले कुनै जानकारी दिएको छैन । आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाल र नेदरल्याण्ड्सबीचको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । क्यानले आइसीसी विधानको २.९ को धारा उल्लङ्घन गरेको भन्दै आईसीसीले निलम्बित गरेको जनाएको छ । आईसीसीको प्रतिबन्ध फुकुवा हुन नेपालले भौतिक पूर्वाधारहरु निर्माण गर्नुका साथै घरेलु क्रिकेटको संरचनाको विकास गर्नुपर्ने आइसीसीले स्पस्ट रुपमा लेखेको छ ।

कप्तान पारस खड्का आईसीसीको भनाइलाई आधार मान्दै नेपाली क्रिकेटको विकासमा टेवा पुग्ने दावी गर्छन । “आईसीसीले क्यानलाई प्रतिबन्ध लगायो तर खेल र खेलाडीलाई लगाएको छैन,” खड्काले भने,“नेपाली क्रिकेट हामी पुराना खेलाडीले मात्र धान्न सक्दैनौ । त्यसका लागि नयाँ खेलाडी आउनुपर्छ । नयाँ खेलाडी उत्पादन गर्न घरेलु संरचना बलियो हुनुपर्छ । खेल मैदानको विकास हुनुपर्छ ।” उनले नेपाली क्रिकेट टोली आफैंमा सक्षम हुनुपर्ने बताउँछन् ।

“हामीलाई आईसीसीले संघको गुटको विवादले गर्दा मात्र प्रतिबन्ध लगाएको हैन,”खड्काले भने,“उसले स्पष्ट भनेको छ प्रतिबन्ध फुकुवा हुन क्रिकेट खेलका संरचनाहरु बन्नुपर्छ । त्यसैले अब नेपालले नयाँ कमिटिसँगै यो सबै प्रकृया पुरा गर्यो भने नेपाली क्रिकेटकै लागि फाइदा हुनेछ ।”

कप्तान पारस खड्काको भनाइमा नेपाली क्रिकेटलाई नजिकबाट नियाल्दै आएका क्रिकेट विश्लेषक बिनय कुमार झा पनि सहमत छन ।

आगामी दिनमा यसबाट पाठ सिक्दै नेपाली क्रिकेटलाई दुर्घटनाबाट जोगाउनतर्फ लाग्नुपर्ने उनको धारणा छ । झा भन्छन, “हामीले यो प्रतिबन्धलाई सकारात्मक लिन सक्नुपर्छ । हाम्रो क्रिकेटको अन्धकार भविष्यलाई माथी लैजान गरिएको सजाय मात्र हो । यसले हाम्रो क्रिकेटको भविष्य अन्धकारमा होइन, उज्यालोतर्फ जानेछ ।”

नेपाली टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न पाउने भएकाले यस प्रतिबन्धले नेपाली क्रिकेटको बेतिथी हटाउन र घरेलु जग बलियो बनाउन निर्देशन गरेको उनको विश्लेषण छ ।

“अब नेपाली क्रिकेट माथी लैजान धेरै सम्भावनाहरु खुलेका छन्,” उनले भने,“जगैबाट नयाँ संरचना आउनेछ । यसले घरेलु क्रिकेट अघि बढाउन सहयोग गर्ने छ ।”

नेपाली क्रिकेट विकासका लागि सरकार अब आफै लाग्नुपर्ने उनको सुझाव छ । झा थप्छन, “यो सकारात्मक पक्षलाई हामीले कुन रुपले हेर्छौं भन्नेमा भर पर्छ । किनकि आइसीसीले हामीलाई क्रिकेट विकासमा सशक्त बन भनेको छ ।”

अबको एक साताभित्र आईसीसीले प्रतिनिधि तोकेर नेपाल पठाउन सक्ने विश्लेषकहरुको आँकलन छ । नेपाली क्रिकेटलाई आईसीसीले अमेरिकी मोडलमा लगेजस्तै आफ्नै निगरानीमा चलाउन पनि सक्ने उनीहरुको भनाई छ ।
स्रोत: बाह्रखरी