विवाहको लगन सकिएपछि सुनको माग घट्यो

काठमाडौं, वैशाख १८ – वैशाख महिनाको विवाह लगन सकिएकोले बजारमा सुनको माग पनि घटेको व्यवसायीले बताएका छन् । यसपाली लगनको समयमा दैनिक २० देखि २५ किलोसम्मको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । पहिलेका वर्षहरुमा वैशाखमा दैनिक ३५ देखि ४० किलोसम्मको कारोबार हुने गरेकोमा यसपाली आधाले व्यापार घटेको उहाँले बताउनुभयो ।  फेरि भाउ पनि बढेकोले अब झनै व्यापार घट्ने उहाँको भनाइ छ । हिजो एकैदिन सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर तोलाको ५६ हजार ५ सय रुपैयाँ पुगेको छ ।