एन्फाले फुटबल खेलाडीलाई १०-१० लाख दिने

काठमाडौँ, २४ चैत, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बङ्गबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु १०-१० लाख दिने निर्णय गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटो, ललितपुरमा आज बसेको एन्फा कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो। यसअन्तर्गत केही महिनाअघि बङ्गलादेशमा भएको बङ्गबन्धुको उपाधि जितेका राष्ट्रिय टोलीका सदस्यलाई जनही रु पाँच लाख तथा लगत्तै भारतमा सम्पन्न सागमा स्वर्ण विजेता २३ वर्षमुनि (यु–२३)को टोलीका सदस्यलाई समान रु पाँच लाख प्रदान गरिने छ।

बङ्गबन्धु गोल्डकप जित्दाको राष्ट्रिय टोलीमा युवा खेलाडीको बाहुल्यता थियो। पछि तिनै खेलाडीको बाहुल्यता भएको युवा टोलीले सागमा स्वर्ण जितेका थिए। तसर्थ, दुवै उपाधि जित्दा अधिकांश तिनै खेलाडी भएकाले उनीहरुले जनही रु १० लाख पाउने भएका छन्।

त्यस्तै, साग रजत पदक हात पारेका महिला राष्ट्रिय टोलीका सदस्यलाई जनही रु एक लाख दिने निर्णय भएको छ।