फोन गर्न ५ घण्टाको उकालो

बझाङ, वैशाख १६ - हातहातमा मोवाइल र इन्टरनेट पुर्याउने सरकारी योजना सुनेको धेरै वर्ष बित्यो तर सुर्मा र दौलीचौर गाविसका बासिन्दा फोन गर्न घण्टौँ उकालो हिँड्नु परेर दिक्क भएका छन् ।
दौलीचौर गाविसमा जडान गरिएको स्मार्ट टेलिकमको भिस्याट २०६७ सालमा र सुर्मा गाविसमा रहेको नेपाल टेलिकमको भिस्याट २०७० सालमा बिग्रिएपछि बझाङको दुर्गम मानिन सुर्मा र दौलीचौरका बासिन्दा सञ्चार सम्पर्कबाट बाहिर रहेका छन् ।
सुर्मा गाविसको बाक्लो बस्ती भएको काँडा, डँडाया, थकुन्नाडा, चुचु र भेलाता तथा दौलिचौर गाविसको नाउला, विछाडा, भुरा, सेलसडी, गजौन र घोगाडा गाउँमा कुनै पनि कम्पनीका मोवाइल सेवाले काम गर्दैन । आफूहरु फोन गर्नका लागी ४÷५ घण्टा हिँडेर अग्लो अग्लो डाँडोमा पुग्नु पर्ने समस्या रहेको स्थानीय दौलिचौर माध्यमिक विद्यालयका शिक्षक गगन कठायतले बताए ।
कुनै कुनै ठाउँमा स्मार्ट टेलिकमको मोवाइल सेवाले काम गर्ने भए पनि स्मार्टको नेटवर्कले बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म मात्र काम गर्छ । स्थानीय बासिन्दाले संयुक्त भेला गरेर टेलिफोनको टावर राखिदिनका लागी पटक पटक नेपाल टेलिकम र जिल्ला प्रशाशनसम्म निवेदन पनि दिइसकेका छन् । जिल्लाबाट यसको सम्बोधन नहुने र नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अत्तरीया कैलाली मार्फत टावर थप्ने निर्णय गरिने जानकारी पाएका यहाँका बासिन्दाले नेपाल टेलिकम बझाङको सिफारीस र निवेदन लिएर अत्तरीया पनि धाइसकेको र त्यहाँबाट पनि कुनै सुनुवाई नभएको स्थानीय अगुवा खड्क बोहराले बताए । विभिन्न दलका नेताहरुले पनि पार्टीको प्रचार प्रसारमा गएको बेला यहाँका नागरिकलाई सञ्चार सम्पर्क सँग जोड्नका लागि आश्वासन दिएर आउने र फर्के पछि कुनै वास्ता नगर्ने गरेका उहाँले बताए ।