खोलामा नुहाउन गएका किशोरको डुबेर मृत्यु

गोरखा वैशाख, १८-गोरखा सदरमुकाममा पानीको अभाव भएपछि नुहाउन दरौँदी नदीमा गएका एक किशोरको डुबेर ज्यान गएको छ । गोरखाको पन्द्रुङ गाविस–४ घर भएर सदरमुकामको धारापानीमा बस्दै आएका १५ वर्षका सुशील बरामको दरौँदीमा डुबेर ज्यान गएको हो । उनी ७ जना साथीहरुसँगै नुवाई धुवाईका लागि दरौंदीमा पुगेका थिए । सदरमुकामको विद्यालयमा पढ्दै आएका उनी बिदाको मौका पारेर नुहाउन दरौँदी गएको उनका साथीहरुले बताएका छन् । पौडी खेल्दै नदीको गहिरो ठाउँमा फसेका उनलाई साथीहरुले त्यहाँबाट निकालेपनि ज्यान गइसकेको प्रहरीले जनाएको छ । सुख्खायाम बढ्दै जाँदा गोरखा बजारमा पानीको चरम अभाव हुन थालेको छ । पानी भर्ने बिषयमा विवाद हुँदा ढुंगेधारामै कुटपिटका घटना समेत हुन थालेको प्रहरीले जनाएको छ ।