भूकम्पपीडित भोकै, एक लाख ६० हजार किलो चामल खाल्डोमा

काठमाडौं वैशाख १६–भूकम्पले घर भत्किँदा आठ लाख परिवारको गाँस पनि पुरिएको छ । उनीहरूलाई सहयोग गर्न भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्दै आएको विश्व खाद्य कार्यक्रमले चामल सद्दे हुन्जेल गोदाममा थन्क्यायो, कुहिएर डल्ला पर्न थालेपछि डोजरले खाल्डो खनेर पुर्न थालेको छ ।
सिन्धुपाल्चोकको इर्खुमा भूकम्पपीडितले राहतको नाममा समेत चामल पाएका छैनन् । तर, उनीहरूकै अगाडि मंगलबार एक लाख ६० हजार किलो चामल र दाल खाल्डो खनेर पुरियो । यसअघि सिन्धुपाल्चोककै खाडीचौर र भीमटारमा मात्र होइन काभ्रे, धादिङ र गोरखामा पनि चामल नष्ट गरिएको थियो ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले भूकम्पपीडितको नाममा ल्याएको चामल गोदाममा थन्क्याउने, सडाउने र खाल्डोमा पुर्ने क्रमलाई निरन्तरता दिएको छ । मंगलबार डोजरले खाल्डो खनेर सिन्धुपाल्चोकको इर्खुमा एक लाख ६० हजार किलो चामल र दाल पुरियो । जबकि वरिपरिका बासिन्दा त्यो चामल कहिले बाँडिन्छ भनेर पर्खिरहेका थिए । सिन्धुपाल्चोकमा यसअघि भीमटार र खाडीचौरमा पनि यसैगरी चामल नष्ट गरिएको थियो । भूकम्पपछि डब्लुएफपीले विभिन्न संघसंस्थामार्फत वितरण गरेको केही चामल गोदाममै कुहिएको भेटिँदै आएको छ । तर, हिउँदका वेला पनि कुहिएको भेटिएपछि सहयोगमै प्रश्न उठेको छ। राहतको चामल पहिलो चरणमा भूकम्प प्रभावित १४ जिल्लामा र पछि डब्लुएफपीको चामल ११ जिल्लामा वितरण भएको थियो ।