उफ् ! यो कस्तो पीडा : दुई दिनमा दुई छोराको निधन

बुटवल । उफ् ! भन्दा पनि मन जिरिङ्ग हुन्छ । हिजो शनिबार एउटा छोराको उपचारका क्रममा निधन र आज आइतबार अर्को छोराको निधन । दुई दिनमा दुई छोराको देहान्त ।

सायद अहिलेसम्म नसुनिएको घटना रुपन्देहीका एक सञ्चारकर्मीमाथि बज्रपातका रुपमा आइलाग्यो । हास्यकलाकारको रुपमा माइलाबाको परिचय बनाउनुभएका विष्णुजी पाण्डे र उहाँकी पत्नी शोभा पाण्डेको काख रित्तो भएको छ ।

शनिबार बिहान जेठो छोरा स्वविशन पाण्डेको २ वर्ष ९ महिनाको अल्पायुमै निधन भएको आलो पीडामाथि अर्को ६ महिनाको छोरा किरण पाण्डे पनि गुमाउनुपरेको लुम्बिनी टाईम्सले प्रकाशित गरेको छ ।

जेठो छोराको उपचारको क्रममा काठमाडौंमा निधन भएपछि भारी मन बोकेर घर फर्किदै गरेका पाण्डे परिवारका कान्छा छोराको आइतबार बुटवलको आम्दा अस्पतालमा उपचारका क्रममा निधन भयो । चैत्र १६ गते मंगलबार बिहान घर नजिकै खेल्ने क्रममा तताएको दूधमा परेका उनलाइ बुटवलको आम्दा, कान्ति बाल अस्पताल हुदै किर्तिपूर अस्पताल काठमाडौंमा उपचारका लागि लगिएको थियो । २०७० असार १० गते जन्मिएका पाण्डेको उपचारको क्रममा शनिबार बिहान निधन भएको हो ।

कान्छा छोरालाई झाडापखाला देखिएपछि आम्दा अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहीँ निधन भएको हो । यो पिडाले पाण्डे परिवार सहित सिंगो रुपन्देहीका सञ्चारकर्मी शोकमा डुबेका छन् ।

यो अकल्पनीय पीडाको भारीले थिचिएका पाण्डे परिवारलाई हाम्रो तर्फबाट समवेदना । साथै धैर्य गर्ने साहस बटुल्न पाण्डे परिवारलाई शक्ति मिलोस् भन्ने कामना छ ।