सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं, २५ चैत, बेग्लाबेग्लै दुर्घटनामा तीनजनाको ज्यान गएको छ। चितवन खैरहनी नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा ना.३ ख ४६९२ नम्बरको ट्रकले ना.२५ प ३९४६ नम्बरको स्कुटीलाई बिहीबार ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। गम्भीर घाइते भएकी स्कुटी चालक राप्ती नगरपालिका–९ बस्ने २४ वर्षीया बबी भट्टराईको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा गणेशमान सागरनाथ नगरपालिका–४ बीरेन्द्रबजारस्थित पूर्व–पश्चिम राजमार्गमा ज.१ त ६७९४ नम्बरको ट्याक्टरले ज.६ प ६१६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ। सागरनाथ नगरपालिका–३ बस्ने २५ वर्षीय अजय महतोको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै कञ्चनपुर कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिबिरमा बस्ने २८ वर्षीय दिपक चौधरीले चलाएको गोरुगाडा खेतमा गहुँ लिन जानेक्रममा बुधबार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। गम्भीर घाइते भएका गाडामा सवार सोही ठाउँ बस्ने भागीराम चौधरीको छोरा १२ वर्षीय राजेश चौधरीको सेती अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।