सालनालसहितको शिशु भेटियो, झिँगा भन्केको तर हेर्दा जिवितै

दोलखा, २५ चैत्र, दोलखाको भीमेश्वर नगरपालिका वडा नं १० को टाङ्नागी भन्ने जङ्गलमा सालनालसहितको बेबारिसे शिशु भेटिएको छ।

सदरमुकाम चरिकोटको भ्यूटावरको तल्लो भागको जङ्गलमा लुगाले बेरेर फालिएको र झिँगा भन्किरहेको अवस्थामा स्थानीयवासीले शिशु भेटाएपछि प्रहरीलाई खबर गरेका थिए। खबरपछि सो स्थानमा पुगेको प्रहरीले शिशुको जीवितै उद्धार गरेको छ।

शिशुको अवस्था ठीक रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा अमेन्द्र कुसबाहले बताए। उनका अनुसार शिशुलाई टाढाबाट फालेका कारण शरीरमा सामान्य चोट लागेको देखिन्छ।

शिशु जन्मनेबित्तिकै बुधबार नै फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेले बताए। रासस