संबिधान भारतबाटै ड्राफ्ट आयो तर स्वीकार्य भएन



बलराम पाण्डे
काठमाडौँ
शान्तिपूर्ण आन्दोलन गरिरहेका सात राजनीतिक दल र सशस्त्र सङ्घर्षरत तत्कालीन माओवादीले निर्णायक संयुक्त जनआन्दोलन सुरु गरेको १० वर्ष पूरा भएको छ ।

हाम्रो भित्री उद्देश्य अब सामन्तवादलाई समाप्तै पार्नुपर्छ भन्ने नै थियो ।

नेपालको सार्वभौमिकता र अर्थतन्त्रलाई बलियो बनाउन नेपालीहरूबीच एकता कायम नभएसम्म विदेशी हस्तक्षेप रोकिँदैन । विदेशी हस्तक्षेप नरोकिएसम्म नेपालको राष्ट्रिय अर्थतन्त्रले खासै उपलब्धि हासिल गर्न सक्तैन भन्नेमा हामी स्पष्ट थियौँ ।

जनताबीच एकता कायम गर्नु हाम्रो अर्को उद्देश्य थियो । तेस्रो, उद्देश्य नेपाली जनताको नैसर्गिक अधिकार कायम गर्नु थियो ।

जनताको गाँस, वास, कपासको व्यवस्था र भाषाको संरक्षण गर्नु थियो । नेपालमा पहिले विभेद थियो । त्यसको विरासत समाप्त पारेर सबै जनता बराबर हुन् कसैको धर्म र संस्कार अभिजात्य मानिने र कसैको शून्य महत्वको हुने विभेद अन्त्य गरेर सबैको धर्म संस्कृतिलाई बराबर गराउने भन्ने थियो ।

जनताको लोकतान्त्रिक अधिकार स्थापना गरेर राज्यमा जनताको पहुँच पुर्याउने उद्देश्य लिएर आन्दोलन सुरु गरेका थियौँ ।

पृष्ठभूमि 

आन्दोलनको पृष्ठभूमि र केन्द्र त्यसबेलाका राजा ज्ञानेन्द्र शाह नै हुन् । उनी दरबार हत्याकाण्डपछि राजा भएका थिए । त्यो हत्याकाण्ड नेपालका लागि बिर्सनै नसकिने ऐतिहासिक घटना थियो । राजा वीरेन्द्रको वंश सखाप भएर एक जनाको परिवारमात्रै बाँच्नु संयोगमात्र मान्न कठिन हुन्छ । गिरिजाबाबुले त यसलाई ‘ग्य्राण्ड डिजाइन’ भन्नुहुन्थ्यो ।

जनताका मनमा पनि यस्तै लागिरहेका अवस्थामा ज्ञानेन्द्र राजा भएपछि २०४६ सालमा प्राप्त गरेको संवैधानिक अधिकार पनि खोसेर फेरि सक्रिय राजतन्त्र ब्युँताउने प्रपञ्च गरे ।

त्यसले गर्दा नेपाली कांग्रेसजस्तो पार्टी पनि गणतन्त्रमा आउन बाध्य भयो । कांग्रेस सभापति गिरिजाबाबुलाई म सधैँ सम्झिरहन्छु । उहाँमा अघि बढेपछि पछि नफर्किने अठोट थियो ।

माले, मसाले र मण्डले एउटै हुन् भन्ने दृष्टिकोण राख्ने गिरिजाबाबु तिनैसँगको सहकार्यमा आन्दोलनमा जान तयार हुनुभयो । नेकपा (एमाले), जनमोर्चा नेपाल र नेमकिपाजस्ता वामपन्थी पार्टी आन्दोलनमा एक भए ।

वामपन्थी पार्टीहरूबीच अन्तरविरोध थिए । सैद्धान्तिक भिन्नता थिए । अन्तरविरोधसहित पनि हामी एकतामा आउनैपथ्र्यो ।

एकतामा जानुपर्ने अवस्था ज्ञानेन्द्रले नै उत्पन्न गरेका हुन् । मत के भन्छु भने एक प्रकारले ज्ञानेन्द्र शाहले नै प्रतिगामी कदमद्वारा हामी नेपाली जनतालाई अन्तरविरोध हुँदाहुँदै पनि एकै ठाउँमा वसेर साझा अधिकार प्राप्त गर्न संघर्ष गर्ने अवसर मिलाइदिए ।

त्यस्तो अवसरलाई गुमाउन हुँदैन भनेर हामी एक भएका हौँ ।

त्यसबेलाको जनमोर्चा नेपालको केन्द्रीय समितिको बैठकले नै असोज १८ को ज्ञानेन्द्रको कदम प्रतिगामी हो, यसले अन्ततः सक्रिय राजतन्त्रमा फर्काउँछ, भित्री उद्देश्य यही हो । यसको विरुद्धमा संघर्ष गरौँ भनेर निर्णय गरेको थियो ।

जनमोर्चा नेपालले नै माधव नेपाल, नेमकिपा, कांग्रेस सभापति गिरिजाबाबुकहाँ लगेर संघर्षको प्रस्ताव राखेको हो ।

गिरिजाबाबुलाई मैले पहिलोपटक प्रस्ताव राख्दा उहाँले इन्कार चाहिँ गर्नुभएन – ‘पख्नुस्, नआत्तिनुस्’ मात्रै भन्नुभयो ।

माधव नेपालले ‘यो सक्रिय राजतन्त्र होजस्तो पनि छ तर सडकमा गइहाल्ने बेला अलि भा’छैन कि’ भन्ने कुरा गर्नुभयो । नेमकिपाका नारायणमान विजुक्छेले मलाई पनि लागेको छ । ‘अब हामीले सोच्नुपर्छ’ भन्नुभयो ।

असोज १८ मा राजाको कदमपछि असोज २२ गते त्यसबेला जनमोर्चा नेपालले सानो सडक प्रदर्शन गर्यौँ ।

त्यसको पाँचमहिनापछि माघको ७ गते हामीले सडकमा जाने कि नजाने भन्ने कुरा गर्यौँ । चारवटा दलका बीचमा सहकार्य गर्ने गरी समिति बनाइयो । त्यही बेला नै सडकमा जान ढिला नगरौँ भन्ने निर्णय भएको हो ।

त्यसपछि गिरिजाबाबु, माधव नेपाल, म र नारायणमान विजुक्छेले पालैपालो नेतृत्व गर्ने गरी बैठक राख्दै गर्यौँ ।

म सानेपा हाइटमा बस्थेँ । हामी छतमा त्रिपाल राखेर बैठक बस्थ्यौँ । मेरै अध्यक्षतामा बसेको बैठकले यो प्रतिगमन नै हो भनेर चारवटै दल सहमतिमा आयौँ । अब सडक संघर्ष गर्ने भन्ने निर्णय भयो ।

फागुन ७ गतेबाट आन्दोलन गर्ने भन्ने निर्णय गर्यौं । हामी माघ ७ गते बैठक बसेका थियौँ । एक महिनाको तयारी गर्ने भनेर त्यही बैठकबाट उठेका हौँ । त्यो माइन्युट अझै पनि छ । त्यसपछि हामी तयारीमा लाग्यौँ । तयारीकै बीचमा ज्ञानेन्द्रले एउटा ‘तुरुप’ फाले । त्यतिबेला युद्धरत माओवादीसँग शान्ति वार्ता गर्न तयार रहेको तुरुप फाले ।

शान्ति वार्ता गर्छु भन्दाभन्दै माओवादी नआउँदा यिनीहरू नै अशान्ति चाहन्छन् भन्ने सन्देश जान्थ्यो । आएनन् भने त्यो देखाएर जे गर्नुपर्छ गर्ने भन्ने दरबारको तयारी हामीले चाल पाइसकेका थियौँ । माओवादी वार्तामा आए सात दलको आन्दोलन निस्तेज पार्ने राजाको चाल थियो ।

माओवादीले पनि त्यसपछि हामी वार्तामा आउन तयार भनेर भनिहाले । शान्ति वार्ताको समयमा आन्दोलन गरेर सात दल वदनाम हुन्छन् भन्ने निष्कर्ष पनि दरबारको थियो ।

राजाले वार्ता गर्न खोज्दा आन्दोलन गर्ने भनेर सात दलको विरोध हुन्छ भन्ने ज्ञानेन्द्रको बठ्याइँ हामीले पनि बुझ्यौं ।

हामीले त्यसपछि त्यो ७ गतेदेखिको कार्यक्रम स्थगन गर्यौँ । त्यसपछि शान्ति वार्ता सुरु भयो । हामीलाई त्यसबेला नै यो शान्ति वार्ता निष्कर्षमा पुग्दैन भन्ने लागेको थियो । किनभने त्यो हामीलाई अलमल्याउनका लागि मात्रै रचिएको प्रपञ्च थियो ।

त्यसपछि उनीहरूको वार्तामा सेना ब्यारेकको पाँच किलोमिटरभन्दा बाहिर जान नपाउने भनेर ‘डिमार्केसन’ राखियो । यो सर्त दुवैतर्फका सेनालाई लागु हुने भनेर वार्ता समितिले निर्णय गरे ।

त्यसबेला लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यो प्रस्ताव प्रधानमन्त्रीमार्फत् दरबारमा पुर्याइयो ।

त्यसबेला दरबारको सहमतिमा वार्ता समितिले प्रस्ताव पारित गर्यो । त्यसपछि तत्कालै ज्ञानेन्द्रले दोहोरो भूमिका निर्वाह गरे ।

एकातिर प्रधानमन्त्रीलाई हुन्छ निर्णय गर भनिदिने अर्कोतिर सेनालाई बोलाएर मान्दैनौं भन्न लगाउने ।

त्यसबेला नेपाली सेनाले हामीले यो निर्णय मान्दैनौं भनेपछि प्रधानमन्त्रीलाइ नै उल्लु बनाउने काम भयो ।

त्यही विषयबाट असन्तुष्टि हुँदाहुँदै लोकेन्द्रबहादुर चन्दको केही समयपछि राजीनामा आयो । ज्ञानेन्द्रको व्यवहार सबैले बुझे ।

वार्ता भंग भएपछि हामी फेरि बैठक बस्यौं । चैतमा हामीले तत्कालीन सद्भावना पार्टीलाई पनि आन्दोलनमा समावेश गरायौं ।

हृदयेश त्रिपाठीलाई बोलाएर हामीले पाँचदलमा राख्यौँ । मधेस, पहाड र हिमाल मिल्नैपर्छ भनेर उहाँलाई बोलाएका हौँ ।

त्यो बैठक हामीले पुल्चोकको एउटा घरमा गरेका हौँ । त्यसपछि हामी पाँचदल भएका हौं ।

त्यसपछि हामी निरन्तर बैठकमा बस्यौँ । बैशाख २१ गतेदेखि हामीले आन्दोलन सुरुगर्ने निर्णय गरेर पाँचदल सडकमा गएका हौँ ।

यस स्थितिमा २०५९ सालदेखि आन्दोलन सुरु भए पनि ६० साल बैशाख २१ गतेदेखि हामी सडकमा गएका हौँ । त्यसपछि हामी ०६३ सालसम्म लगातार सडकमै रह्यौँ ।

यस बीचमा असार, साउन खेतीपाती केही नभनी दिनहुँ सडकमै गयौँ । हजारौंको प्रदर्शन हुँदा पनि राजाले हाम्रो मागको सुनुवाइ गर्दै गरेनन् ।

ज्ञानेन्द्रसँग सेना छ । शक्ति भएकाले हामीलाई नटेरेको हो भन्ने निष्कर्ष हामीले निकाल्यौँ ।

अब हामी अर्को विकल्पमा पनि जानुपर्छ भन्नेमा छलफल गर्यौं । माओवादीसँग सहकार्य गरेर अघि जानुपर्छ भन्ने निष्कर्ष हामीले निकाल्यौँ । माओवादीको पनि त सेना थियो ।

गिरिजाबावु र मेरो भित्री छलफलपछि हरेक निर्णय हुन्थ्यो । उहाँसँग म दैनिक छलफलमा हुन्थेँ । पहिले उहाँ माओवादीसँग सहकार्य गर्नै हुँदैन भन्ने पक्षमा हुनुहुन्थ्यो । मैले उहाँसँग धेरैपटक कुराकानी गरेँ, छाड्दै छाडिन । उहाँले त्यसपछि ‘ल कुरा गर्नुस्’ भन्नुभयो ।

‘गिरिजाबावुले त्यसो हो भने यो काम अरूलाई लगाउनु हुँदैन तपाईँ नै अघि बढ्नुस् । जहाँ गएर कुराकानी गर्नुपरेपनि तपाईँ नै गर्नुस्’ भनेर मलाई भन्नुभयो ।

त्यसपछि मलाई समस्या पर्यो । म आफैँ चिनिएको व्यक्ति । मेरोपछि सीआईडी लागेको रहेछ भने माओवादीको सेल्टर नै बर्वाद हुन सक्थ्यो । त्यो पनि गर्न हुँदैनथ्यो ।

माओवादीका नेता त्यसबेला रोल्पामा हुनुहुन्थ्यो । रोल्पामा म अब कसरी जाने ? आन्दोलनमा दिनहुँ लाग्ने व्यक्तिलाई धेरै चिनेका हुन्छन् । यसले त माओवादीको बर्बादी गर्ने काममात्रै हुन्छ भन्ने लाग्यो ।

मैले गिरिजाबाबुलाई भोलिपल्ट गएर एउटा प्रस्ताव राखेँ — ‘मसँग एकजना साथी हुनुहुन्छ । उहाँलाई सामान्य जनता धेरैले चिनेका छैनन् । प्रचण्डसँग कुरा गराउने उपयुक्त व्यक्ति उहाँ नै हुनुहुन्छ ।’ गिरिजाबावुले अर्को मान्छे त हुँदैहुँदैन भनेर अडान नै लिनुभयो । तपार्इँ र मबाहेक अर्को व्यक्ति यसमा सहभागी गराउन हुँदैन भनेर मलाई भन्नुभयो ।

मैले अन्तिममा भने — अर्जुननरसिंह केसीसँग काम गरेका व्यक्ति हुन् उनी । पहिले नेविसंघका मान्छे हुन् । पछि २०३९ तिर हामीतिर आएका हुन् । उनको नाम नारायणकाजी श्रेष्ठ हो । तपाइले एकपटक अर्जुननरसिंह केसीसँग सोध्न सक्नुहुन्छ भनेपछि गिरिजाबावु बोल्नुभएन ।

महिनौं लाग्यो यो कुरा बुझाउन । ‘संसारले आतंकवादी भनेर रेडकर्नरमा राखेको छ । कस्तो अप्ठेरो कुरा गर्नुभयो’ भनेर मलाई पटकपटक भन्नुहुन्थ्यो । उहाँले अर्जुननरसिंह केसीसँग नारायणकाजीको नाम चाहिँ सोध्नुभएछ तर अन्य कुरा केही खोल्नुभएनछ । मैले पछि नारायणकाजी श्रेष्ठलाई गिरिजाबावुकहाँ लगेँ ।

उहाँहरूबीच चिनाजानी थिएन । कुरा गर्दै गएपछि पछि नारायणकाजीलाई पठायौँ ।

त्यसबेला हामीसँग स्याटलाइट टेलिफोन थियो । मोबाइल आइसकेको थिएन । त्यो स्याटलाइट फोन पनि उहाँहरू (माओवादी) ले नै दिएको हो ।

विभिन्न चरणमा कुरा गरेपछि दुवैतर्फबाट हुन्छ भन्ने भयो ।

माथिल्लो चरणमा कुराकानी गर्ने भन्ने निष्कर्ष निकाल्यौँ । त्यसपछि कृष्णप्रसाद सिटौला र बावुराम भट्टराईबीच कुराकानी गराइएको हो । अन्ततः वातावरण तयार भएपछि उच्चस्तरीय बैठक बस्ने भन्ने टुंगोमा पुग्यौँ ।

यसरी बैठक बस्दा कहाँ बस्ने भन्ने ठाउँको खोजी भयो । माओवादीले भन्यो, ‘रोल्पामा हाम्रो सेल्टर छ । त्यहाँ आउनुस् । तपाईहरूलाई हामी पूर्ण सुरक्षा दिन्छौँ ।’ म जाँदा त्यो हालत हुन्थ्यो भने गिरिजाबाबु लैजाँदा के होला ? यसमा कुराकानी भयो । सेनाको ब्यारेक छलेर जान सकिने अवस्था थिएन ।

गिरिजाबाबुले यही बेला भन्नुभयो, ‘म बिरामी भनेर दिल्ली जान्छु । अस्पतालमा १/२ दिन बस्छु । त्यतै बोलाएर कुराकानी गरौँला । नेपालमा मेरो कारणले सुरक्षित हुँदैन ।’ उहाँ उपचारका लागि भनेर जानुभयो । बाँकी अरू पनि सँगै दिल्ली जान हुँदैनथ्यो ।

हामी आआफ्नो तरिकाले बोर्डर पारी जाने भन्ने निर्णय भयो । हामीले भनेको मितिभन्दा बैठक दुई दिन ढिला भयो । किनभने माओवादी जाने भनेर तय भएको नाकाको सुरक्षा व्यवस्था सरकारले झनै कडा गरेको थियो । म कपिलवस्तुको नाका हुँदै गएको थिएँ । माओवादीले नाका परिवर्तन गरेर जाँदा दुई दिन ढिला भएको थियो । गिरिजाबाबु दिल्ली पुगेर होटलमा बस्नुभएको थियो । हामी गएर उहाँलाई होटलमा भेट्यौँ । त्यसपछि १२ बुँदे सहमतिको पृष्ठभूमि तयार भएको हो ।

० ० ०

अहिले के सुनिन्छ भने यो सबै भारतले मिलाइदिएको थियो । वार्ता पनि भारतले नै गराएको हो । सहमतिको ड्राफ्ट पनि भारतीयले नै गरेका हुन्  | यो बिल्कुलै गलत कुरा हो ।

हामी त्यसबेला भारतले बनाइदिएको सेल्टरमा बसेका होइनौ । उसले बनाइदिएको पनि थिएन । हाम्रै पार्टीहरूका प्रवासी संगठन छन् । ती संगठनमा काम गर्ने साथीले सहयोग गरेका हुन् । त्यस्तो ठाउँमा गएर हामी कुराकानी गरेका हौँ । हामीले गिरिजाबावुलाई त्यहाँ लैजाँदा पनि कसैले थाहा पाउला भनेर ३ वटा मोटर चेन्ज गरेर लगेका थियौँ ।

 वार्तामा सबैले आआफ्नो पार्टीका तर्फबाट ड्राफ्ट पेस गथ्र्यौं । त्यसमा छलफल गर्दै गएपछि कुन मिलेन, कुनलाई झिक्ने राख्ने गर्दै अन्त्यमा सहमति कायम भएको हो । भित्रीरूपमा माओवादीका कोही साथी भारतीयसँग ‘टच’मा थिए भने हामीलाई थाहा थिएन । या कांग्रेस/एमालेका कोही थिए भने पनि हामीलाई जानकारी गराइको थिएन ।

मलाई अहिलेसम्म पनि भारतीय सहयोग थियोजस्तो लाग्दैन । तर म के कुरामा शङ्का छैन भने त्यहाँको सुरक्षा निकायले हामी भेट भएको कतै थाहा पाएको चाहिँ थियो । गिरिजाबाबु दिल्ली पुगेपछि त्यहाँको सुरक्षा निकायले पनि यसको जानकारी पक्कै पाएको हुनुपर्छ । गिरिजाबाबु दिल्ली पुगेको कुरा ‘र’ ले थाहा नपाउने भन्ने पक्कै हुँदैनथ्यो ।

माओवादी त कहाँ बस्छन् भन्नेसमेत हामीलाई पनि थाहा थिएन । त्यहाँ पुगेर हामी पनि छुट्टाछुट्टै बसेका हौँ । हामी बस्ने ठाउँ जनमोर्चाको संगठनकै साथीहरूको घर गाजियावादमा थियो । प्रचण्ड र बाबुराम पनि छुट्टै बस्नुहुन्थ्यो । एकदिन प्रचण्डले मलाई एक्लै आफू बस्ने ठाउँमा लगेर खाना खुवाउनुभएको थियो । गिरिजाबाबु भने होटलमै बस्नुभएको हो ।

वार्ताका क्रममा अब सिधै गणतन्त्रमा जाने भन्ने कुरा उठेको थियो । तर त्यसबेला नै गिरिजाबाबुले जाने त्यहीँ हो तर अहिले भन्ने बेला भएको छैन भनेर सबैलाई कन्भिन्स गर्नुभएको हो । ‘यो अत्यन्तै गोप्य राखेर जानुपर्छ । राजतन्त्र कायम हुनुपर्छ भन्ने थुप्रै मुलुक छन् । उनीहरूले काम गर्नै दिदैनन्’ भनेर गिरिजाबाबुले भनेपछि हामीले मानेका थियौँ ।

यसपछि १२ बुँदे सहमति भएको हो ।

त्यसको आधारमा २०६२ चैत २४ गतेदेखि सडक संघर्षमा जाने भन्ने प्रस्ताव तयार भएको हो ।

किन रोजियो चैत २४ नै 

हामी वामपन्थीले चैत २४ रोजेका हौँ । कांग्रेसले चैत २६ गते भनेको थियो । २०४६ सालको जनआन्दोलनमा चैत २४ गते सबैभन्दा ठूलो आन्दोलन भएको थियो । पञ्चायतलाई घुँडा टेकाउने आन्दोलन त्यही दिन भएको थियो । त्यसैले हामीले त्यही दिन रोजेका हौं ।

आन्दोलनमा कसरी जाने भन्ने विषयमा पनि हामी कुराकानी ग¥यौँ । माओवादीले भित्रीरूपले परिचालन गर्ने, उनीहरूले गाउँगाउँबाट जनतालाई सदरमुकाम पठाउने भनेर सुरु गरेका हौँ । हामीले यसलाई निर्णायक आन्दोलन भनेका थियौँ । जति समय लागे पनि पछि नफर्कने सहमति गरेका थियौँ ।

आन्दोलन रोक्न भारतको दबाब 
भारतीय शासक वर्गले गिरिजाबाबुलाई पटकपटक ‘यो आन्दोलन रोक’ भनेका थिए । बारम्बार भनेका थिए । भारतको चाहना नेपाल अहिले गणतन्त्रमा नजाओस् भन्ने रहेछ । त्यसै कारणले उनीहरूले गिरिजाबाबुलाई दबाब दिएका रहेछन् । गणतन्त्रमा पुग्नु गलत हुन्छ यसलाई रोकेर मिलाएर जाऊ भन्ने दबाब गिरिजाबाबुलाई पछिसम्म थियो ।

गिरिजाबाबु र मेराबीच कुनै पनि कुरा लुक्दैनथे । हामीमा केही बाँकी थिएन । हाम्रो सम्बन्ध कस्तोसम्म भयो भने गिरिजाबाबुले कांग्रेसका नेताभन्दा मलाई विश्वास गर्न थाल्नुभयो । त्यसका पनि आफ्नै कारण थिए ।

राजासँगको बैठक र विगत
तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजीनामा दिएपछि राजाले हामी आन्दोलनमा रहेका सबै दललाई बोलाए । संयुक्तरूपले गयौँ । हामीले पहिले नै नीति के बनाएका थियौँ भने राजाले बोलाएको बैठकमा एक्लाएक्लै कोही पनि नजाने ।

हामी त्यहाँ पुग्दा त शेरबहादुर देउवा (तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)का सभापति) पनि त्यहीँ बसेका । सँगै पशुपतिशम्शेर जबरा पनि रहेछन् । मधेसका एकजना नेता पनि सँगै थिए । त्यसपछि हामीलाई अप्ठेरो लाग्यो । गिरिजाबाबु उकुसमुकुस हुनुभयो । शेरबहादुर देउवालाई देखेपछि उहाँको रिस झनै बढ्यो । ‘यो बैठकमा नबसौँ जाऊँ’ भनेर गिरिजाबाबुले भन्नुभयो । हामी एउटा लाइनमा थियौँ । उहाँहरू अर्को लाइनमा बस्नुभएको थियो ।

हामी भित्रभित्र कुराकानी गरेर अब जाऊँ भनेर उठ्नै लाग्दा भित्रबाट बाबुछोरा (ज्ञानेन्द्र र पारस ) आइपुगे । कोठामा चारैतिरबाट टेबलसहितका कुर्सी राखिएका थिए । हाम्रो लाइनमा बस्नुभएका गिरिजाबाबुलाई त्यहाँ होइन यता आउनुस् भनेर लोकेन्द्रबहादुर चन्दसँगै बस्न आग्रह गरियो । तर गिरिजाबाबुले केही बेर हामीसँगै बस्न खोज्नुभयो धेरै कर गरेपछि उहाँ सर्नुभयो । एकातिर राजाका बावुछोरा, अर्कोतिर लोकेन्द्रबहादुर चन्द र गिरिजाबावु । अनि दुइतिरमध्ये एकातिर हामी र अर्कोतिर शेरबहादुर देउवासहितका नेतालाई राखियो ।

त्यसपछि हामीलाई किन बोलाइएको भनेर जिज्ञासा राख्यौँ । ज्ञानेन्द्रले बोल्न सुरुगरे — ‘लोकेन्द्रबहादुर चन्दको राजीनामा आयो । मैले फिर्ता गर्नुस् भनेको उहाँले मान्नुभएन । प्रधानमन्त्री कस्लाई बनाउने, सरकारमा ककस्लाई सहभागी गराउने भनेर मैले तपाईँहरूलाई सल्लाहका लागि बोलाएको हुँ ।’

त्यसपछि मैले नै भने — ‘राम्रो कुराका लागि बोलाउनुभएको रहेछ, ठीकै छ । तर उहाँहरूलाई किन बोलाउनुभयो त ?’ अनि शेरबहादुर देउवा, पशुपतिशमशेर जबरालगायतलाई पनि बोलाइएको छ भनेर हामीलाई किन जानकारी गराइएन ? भनेर मैले भने ।

त्यस्तो जानकारी गराएको भए हामीले पनि आफ्नो सोच बनाउँथ्यौँ । पहिले यो कुराको टुंगो लगाउनुपर्छ भनेपछि राजाले पशुपति, पशुपति भनेर पशुपतिभक्त महर्जनलाई बोलाए । ‘यो के भएको हो ?’ ज्ञानेन्द्रको प्रश्न थियो । त्यसलगत्तै पशुपतिले जबाफ दिए, ‘सरकारले सामूहिक दर्शनभेट भनेकाले मैले त्यहीअनुसार जाहेर गरेको सरकार ।’ सामूहिक भनेर हामीलाई मात्रै बोलाइन्थ्यो तर यहाँ यसरी केही विषयमा छलफल हुनै सक्दैन भनेर हामीले भनेपछि राजाले फेरि, ‘यो के भएको हो ?’ भनेर उनैतिर हेर्न थाले ।

त्यसबेला पशुपतिभक्तलाई गोटी बनाइयो ।

एकछिनमा वातावरण साम्य भयो । ‘अब कुरा सुरु गरौँ, गिरिजाबाबुबाटै सुरु गरौं’ भनेर ज्ञानेन्द्रले प्रस्ताव राखे । त्यसपछि गिरिजाबाबुलाई थाम्न सकिएन । रातोपिरो हुँदै ज्ञानेन्द्रको आँखामा औँला तेस्र्याउँदै झोँक्किए — ‘तपाइँ गर्ने कुरा केही पनि छैन । यस्तो ठाउँमा के कुरा हुन्छ ?’

राजालाई गिरिजाबावुले यसरी गाली गरेको देखेपछि मैले उनलाई भित्रीरूपमा चिन्ने मौका पाएको हुँ । बाहिर चिनेको गिरिजाबाबु भित्र अर्कै हुनुहुन्थ्यो । भर्खर पार्टी फुटाएर गएका देउवालाई देखेपछि उहाँ बढी झोँक्किनुभएको हो ।

त्यसपछि सन्नाटा भयो ।

हामीले गिरिजाबाबुबाट अब थप कुरा आउँदैन तपाईबाटै आओस् भनेर राजालाई भन्यौं । राजाले उही कुरा दोहो¥याए । त्यसपछि हाम्रोतर्फबाट म नै अघि सरेर भनेँ — ‘कांग्रेसले नेतृत्व गर्नुपर्ने हो । तर उहाँहरूको पार्टी फुटेको अवस्थामा छ । सदनमा त्यो हैसियत छैन । भर्खर एमालेमा एकता भएको छ । उहाँहरू बलियो हुनुहुन्छ । हिजोको म्यान्डेटको आधारमा माधव नेपाललाई नै अघि सारौँ भनेर प्रस्ताव राखेँ ।’

त्यसपछि गिरिजाबाबुले भन्नुभयो, ‘यसमा मेरो फुल्ली सपोर्ट छ ।’ नारायणमान बिजुक्छेले पनि हुन्छ यही हो भन्नुभयो । अनि शेरबहादुरजीले के भन्नुभयो भने, ‘कहाँ हुन्छ यो कुरा ? मलाई अन्याय भएको छ । मेरै नेतृत्वको सरकार अपदस्थ भएको हो । सरकारको नेतृत्व मेरै हुनुपर्छ ।’ त्यसपछि पशुपतिशम्शेर जवराले भन्नुभयो, ‘लोकेन्द्रबहादुर चन्द हाम्रै पार्टीको नेता हो । उहाँको नेतृत्वमा माओवादीसँग वार्ता पनि जारी छ । त्यसलाई पनि टुंगोमा पुर्याउन मेरै नेतृत्व चाहिन्छ ।’

त्यसपछि मधेसका नेताको पालो आयो । उनको नाम मलाई अहिले सम्झनामा आएन । उनले भने, ‘प्रभु ! तराईका जनताले अहिलेसम्म केही पाएका छैनन् । यो मौका तराईका जनतालाई बक्स होस् । तराईको सेवकको उद्धार होस् ।’ सबैका यस्ता कुरा आएपछि बेइज्जत भयो यहाँ नबसौँ भनेर हामीले भन्यौं । ‘फेरि छलफल गरौंला’ भनेर ज्ञानेन्द्रले भनेपछि हामी निस्कियौँ ।

त्यहाँ ज्ञानेन्द्रले खेल खेल्नुथियो । त्यो खेले । हामी उठ्ने बेलामा अब दरबारले एमालेसँग मात्रै सम्पर्क राख्ने, एमालेले हामीसँग सल्लाह गर्छ भनेर हामी उठेका थियौँ । त्यो शुक्रबारको दिन थियो ।

मंगलबारको दिनसम्म पनि केही खबर आएन ।

मंगलबार दिउँसो अबेर दरबारबाट मकहाँ खबर आयो । ‘तपाईँलाई प्रधानमन्त्री हुनुपर्यो भन्ने आग्रह छ,’ दरबारबाट आएका ती व्यक्तिले भने । अनि मैले भने — ‘कसरी र के कारणले म प्रधानमन्त्री हुने ? म दरबारमा नै गएर माधव नेपाल प्रधानमन्त्री हुनुपर्छ भन्ने प्रस्तावक अहिले प्रधानमन्त्री बन्न मिल्छ ? यो अनैतिक काम मबाट हुँदैन ।’

म कहाँबाट फर्केको भोलिपल्ट उनी फेरि आइपुगे । ‘माओवादी युद्ध अहिलेको समस्या हो । यसका लागि अमिकबाहेक अर्को कसैबाट हुनसक्दैन भनेर हुकुम भएको छ,’ उनले मसँग भने । तर मैले फेरि पनि हुँदैन मेरो नेतृत्वमा सरकार बन्दैन भनेर भनिदिएँ । माधवजीलाई नै बनाउनुपर्छ भने । उनले फेरि आग्रह गरे — ‘तपाई नहुने हो भने नारायणमानजीलाई भनिदिनुपर्यो ।’ ‘म दरबारको हुलाकी होइन, मैले भन्न मिल्दैन’ भनेर मैले पनि ठाडो जवाफ दिएँ ।

त्यसपछि उनी सिधै भक्तपुर पुगेछन् । त्यहाँ पुगेर उनले सिधै भनेछन् — ‘अमिकजीले मान्नुभएन । तपाईँ प्रधानमन्त्री बनिदिनुपर्यो ।’ अनि त नारायणमानजीलाई झनै रिस उठेछ । उहाँले भन्नुभएछ, ‘अमिकले छाडेको जुठो मैले स्याहार्ने ?’ पछि हामी ७ दलभित्र यिनै कुरा गर्दै हास्थ्यौँ ।

मैले प्रधानमन्त्री नखाएपछि गिरिजाबावुलाई पनि मप्रति विश्वास बढ्यो । त्यसपछि हामीबीच सबैभन्दा बढी निकटता भएको हो ।

हामी पाँचदल मात्रै आन्दोलनमा थियौँ । हामी आन्दोलनमा रहेका बेला राजाले प्रधानमन्त्रीका लागि दरखास्त आह्वान गरे । लक्ष्मण खड्कासम्मले दरखास्त दिए । यसरी प्रधानमन्त्रीको पद र गरिमा गिराउने काम भयो ।

आन्दोलन चर्कँदै गएको थियो । एक सातापछि सूर्यबहादुर थापा प्रधानमन्त्री बने । तर हामीले आन्दोलन रोकेनौं । राजाले आन्दोलन तुहाउने र फुटाउने षड्यन्त्र पटकपटक गरिरहे । त्यही क्रममा दलहरूको अस्तित्व स्वीकार गर्ने भनेर शेरबहादुर देउवालाई फेरि प्रधानमन्त्री बनाए । शेरबहादुर देउवा नेतृत्वको सरकारमा आन्दोलनरत एमाले पनि सहभागी भयो । हामीबाट एमाले छुट्टियो । त्यति भएपछि बाँकी ४ दल बसेर यो धोका हो भनेर निर्णय गर्यौँ । एमालेले बुझेन भन्यौ । एमालेको अनुपस्थितिमा पनि सडकमा आउनेको संख्या कम भएन ।

जनताले परिवर्तन खोजेका थिए । हामीले लगातार आन्दोलन गरिरह्यौँ । माघ १९ गतेपछि त्यो सरकारलाई अपदस्थ गरेपछि सबैलाई छर्लङ्ग भयो । हामी सबैलाई घरमै नजरबन्दमा राखियो । पछि पक्राउ गरेर जेलमै राख्यो । अदालतको आदेशमा केही समयपछि रिहा गरियो । हामीले भूमिगत शैलीमा बैठक बसेर आन्दोलनका रणनीति बनायौँ । त्यति बेलै माओवादीसँग सहकार्य गर्ने निर्णय गरेका हौं ।

१९ दिने आन्दोलनकै बीचमा वार्ता 

१९ दिने जनआन्दोलनकै बेला पनि रोक्नका लागि भारतबाट दबाब आएकै हो । राजालाई नै सिध्याउने भए । गिरिजाबावु कम्युनिस्टसँग लागे भन्ने राजालाई पनि लागेको थियो । भारतको आग्रहमा गिरिजाबाबुले ‘यो नेपालको आन्तरिक मामिला हो । हामी समाधान गर्छौं’ भन्नुभयो । गिरिजाबाबुले भारतीयहरूलाई तपार्इँहरूले हामीलाई उपदेश दिने होइन भनेर हाम्रै अघि भन्नुभएको थियो ।

भारतबाटै ड्राफ्ट आयो तर स्वीकार्य भएन 

वैशाख ८ गते संसद्को पुनस्र्थापना गर्ने, त्यसैले प्रधानमन्त्री चयन गर्ने, संवैधानिक राजतन्त्र राख्ने भन्ने ड्राफ्ट आएको हो । आएपछि के गर्ने भनेर हामीबीच छलफल भयो । म त्यसबेला सात दोबाटोमा थिएँ । मलाई गिरिजाबाबुले बोलाउनुभयो । कुराकानीका क्रममा गिरिजाबाबुले त्यो मलाई देखाउनुभयो । अनि हामीबीच यो आन्दोलन प्रचण्डसँग पनि छलफल भएर भएको हो । उहाँसँग पनि छलफल गर्नुपर्छ तर पनि यसरी जानु चाहिँ हुँदैन भन्नेमा हामी पुग्यौँ । त्यसबाट १२ बुँदेको उल्लंघन हुन्छ भन्ने भएपछि गिरिजाबाबुले फर्काइदिनुभयो ।

त्यसपछि आन्दोलन झनै चर्कियो । अब दरबार घेर्ने भन्ने निष्कर्षमा पुग्यौँ ।

पछि बैशाख ११ गते दरबारबाट अर्को ड्राफ्ट आयो । म त्यस दिन धोबीघाटमा थिएँ । हामी छलफलमा बसेर राजाका सबै अधिकार कटौती हुनेगरी यसलाई स्वीकार गर्ने निष्कर्षमा पुगेको हो ।

गिरिजाबावुलाई राष्ट्रपति बनाउने सहमति भएकै हो 

सात दलभित्र छलफल हुँदा गिरिजाबाबुलाई राष्ट्रपति बनाउने भन्ने छलफल भएकै हो । जुन दल ठूलो बन्छ त्यसले सरकारको नेतृत्व गर्ने भन्ने पनि सहमति भएको हो । पहिलो संविधान सभामा माओवादी ठूलो दल बन्यो । उसको नेतृत्वमा सरकार पनि बन्यो । गिरिजाबाबुलाई राष्ट्रपति बनाउन सबै एक ठाउँमा आइदिएको भए अहिलेको अवस्था हुने थिएन ।

समस्याका समाधान त्यसबेला नै हुन्थ्यो । पहिलो संविधान सभाबाट नै संविधान बन्थ्यो । गिरिजाबाबुलाई राष्ट्रपति बन्न नदिने र अरूलाई बनाउने भन्ने कुरा आएपछि दरार पैदा भयो । राष्ट्रपति बनाउने भनेर उहाँलाई समानुपातिकमा राखिएको हो । तत्कालीन माओवादीका केही नेताको चलखेल त्यहाँ बढ्यो । प्रचण्डले त्यसलाई थेग्न सक्नुभएन । सम्भवतः यो बाबुरामजीहरूकै खेल थियो भन्ने आजभोलि कुराकानी हुन्छ ।

गिरिजाबाबुलाई राष्ट्रपति नदिएपछि सहमतीय प्रणाली बहुमतीयमा गएको हो ।

उद्देश्यतिर मुलुक गएन 

हामीले जे सोचेका थियौँ मुलुक त्यसतर्फ जान सकेको छैन । तर हामी शून्यमा पनि छैनौ । हामी जुन उद्देश्यले अघि बढेका थियौँ । सामाजिक अन्तरविरोधसमेत हल गर्ने सोच थियो । त्यो पूरा भएन ।

संविधान निर्माण प्रक्रिया पनि सोचेअनुसारको हुन सकेन । अहिले पनि भारतीयको खेल जारी छ । त्यसबेलाको रिस फेर्न संविधान असफल बनाउने प्रयास उनीहरूले गरेका छन् । यस्तो लोकतान्त्रिक संविधान बनाउँदा पनि नाकाबन्दी बेहोर्नुप¥यो । जनसंविधान बनाएको भए के हुन्थ्यो ?

स्रोत: बाह्रखरी