'क्याराभान'का थिन्लेको आज काठमाडौँमा अन्त्येष्टि : फिल्ममा जस्तै भिरमा लडेर गयो ज्यान


​स्वेच्छा राउत 

जौ लहलाउँदो गरी पाकेको लोभलाग्दो डोल्पामा चौरीको लस्कर ह्वारह्वार्ती धुलो उडाउँदै गाउँ छिर्छ। दौडादौड गरेर गाउँलेहरु स्वागत गर्न पुग्छन्। सुन्दर यो भूगोलको रमाइलो दृश्यमा चिच्याइरहेका मानिसहरु एक्कासी नि:शब्द हुन पुग्छन्। लर्को लागेर अपर डोल्पा पुग्दा जोख्योको ढाडमा नुनको धोक्रासँगै एकजनाको शव पनि हुन्छ।

जोखिम बाटोबाट यात्रा गर्दा लाक्पाले ज्यान गुमाएका हुन्छन्। घन्टौ लगाएर भिरबाट लाक्पालाई झिकेका हुन्छन् नुन ओसार्न गएकाहरुले। नुनको खेपसँगै थिन्लेको छोरोको शव गाउँ भित्रिन्छ – धुलो उडाउँदै।

छोरोले ज्यान गुमाउँदा पनि थिन्लेले धैर्यता छोड्दैन। उसको छोराको शव लामा परम्पराअनुसार पूजामा बसाइन्छ र अन्तिममा उनको शव टुक्राटुक्रा पारेर गिद्धलाई खुवाइन्छ।

एरिक भ्याली निर्देशित फिल्म हिमालय क्याराभानको यो दृश्यले थिन्लेका छोरा लाक्पाको मृत्युकर्म र उनकी पत्नीको वेदनालाई उजागर गर्छ। सुरुवातकै यो प्लटले फिल्मलाई डोर्‍याउँदै कथा बुन्न थाल्छ।

तर, यहाँ बुन्न लागिएको कथा अर्कै हो। र, यो कथामा थिन्लेको छोरा होइन थिन्लेकै मृत्यु हुन्छ। फिल्ममा थिन्लेका छोरा लडेर मरेका छन्। यो कथामा पनि थिन्लेको मृत्यु कारण लड्नु नै हुन्छ। फिल्म यथार्थमा आधारित कथा थियो भने, यो कथा सत्य हो। अर्थात् साँच्चै थिन्लेको मृत्यु भएको छ। आज उनको अन्त्येष्टि हुँदैछ।

जन्मैदेखिको कथा

थिन्ले लोन्डुपको जन्म विक्रम संवत् २००१ सालमा डोल्पाको सलाङ गाविसको धावामा भएको हो। आमा बुबाका कान्छा छोरा उनी सानैबाट चौरीको पछिपछि कुद्थे, घोडा चडेरै हुर्किए। तर सँगैका साथी चौरी चराएर मात्र बस्दा थिन्लेको दैनिकी त्यतिमै सीमित भएन।

चौरी चराउन हिँड्नै पर्ने बाध्यता र शैक्षिक वातावरणको समस्या बीच पनि उनले पढे। अहिले पनि डोल्पामा पढ्न सजिलो छैन। न राम्रो विद्यालय छ न शिक्षक नै। न किताब कापी छन्, न पढ्ने वातावरण नै। त्यो समयमा पनि उनको पढ्ने इच्छाशक्तिका कारण उनका बुबा आमाले उनलाई भोट लिपीमा पढ्न पठाए। उनी साथीहरुको बीचमा गाउँमा अरु भन्दा जान्ने भए। बुझ्ने भए। हुलमा सबै भन्दा बढी भारी बोक्ने खच्चडले अलि बढी खाना पाए जस्तै नपढेकाहरुको बीचमा पढेका थिन्लेबाट सबैले अलि बढी आशा राखे।

उनले परिवारसँगै गाउँलेको आशामा तुसारापात हुन दिएनन्। बाटो नभए पनि, खाने पानीको लागि घण्टौं हिड्न परे पनि, पढ्नका लागि विद्यालय नभए पनि, बत्ती नहुँदा पनि, सदरमुकाम आउने जाने बाटो दोहोरो नभए पनि गाउँलेहरुको केही गुनासो नै थिएन। उनीहरु खुसी थिए। किनकि उनीहरुले डोल्पा बाहेक केही देख्ने मौकै पाएका थिएनन्।

चेतनाको बत्ती बल्दा

डोल्पाको अवस्था बुझ्दै जाँदा आफू र आफ्नो गाउँ निकै पछाडि परेको भान भयो उनलाई। परिवर्तन गर्न कै लागि भनेर २०४० सालबाट उनी राजनीतिमा लागे। २०४५ सालमा पहिलो पटक वडा अध्यक्ष भए। क्षेत्रीय अध्यक्षको समेत भूमिका निभाएका उनले राजनीतिमा सक्रिय भएर  सलाङ गाविसका लागि सकेको गरे।

'सलाङमा खानेपानीको अभाव यस्तो थियो कि पानी लिन मुहानमा पुग्दा नपुग्दै तिर्खाले सताउँथ्यो,'  अन्तिम संस्कारका लागि थिन्लेको काठमाडौंस्थित घरमा आएका डोल्पो समाजका प्रबन्धक पेमा वाङछेङले भने,'थिन्ले र उनको समूहको प्रयास पछि गाउँमा खानेपानीको समस्या हट्यो।'

थिन्लेको योगदान खानेपानीका लागि मात्र नभएर सिचाईंको लागि पनि उत्तिकै थियो।

थिन्लेको सोच सँधै आफूभन्दा माथि थियो। किनकि उनी भगवानमा आस्था राख्थे र अरुका लागि गरेको कर्मको फल देउताले नै दिने कुरामा विश्वास गर्थे। त्यसैले उनले सधैं आफ्नो लागि मात्र नभएर सबैको लागि सोचे।
विश्वभर चर्चित बने
डब्लुडब्लुएफमा आवद्ध भएर काम सुरु गरेका उनले आफ्नो व्यक्तिगत खाता बलियो हुने गरी कामको झारो टार्न सक्थे होलान्। तर त्यसो गर्न उनको धर्मले दिएन। उनको लागि पैसाभन्दा माथि डोल्पालीको आशा थियो। त्यो आशा भन्दामाथि उनको भगवान।

थिन्लेले डब्लुडब्लुएफसँग मिलेर सालाङ ५ र ६ मा सोलारको पनि व्यवस्था गरे। 'सलाङका डोल्पालीको अनुहार खुसीले बलेको थियो रे,' वाङछेङले सुनाए।

डोल्पाका लागि सकेको गरेका उनी वास्तवमा डोल्पाकै पर्यावाची बने फिल्ममार्फत्। हिमालय क्याराभान मार्फत् डोल्पाको संस्कृति र परम्परा विश्वभरि चर्चित बन्यो। र, यो फिल्मका केन्द्रमा रहे थिन्ले।

उनी हिरो रहेको फिल्म अस्कर अवार्डमा समेत मनोनीत भएर विश्व प्रसिद्ध भएपछि उनको नाममा 'थिन्ले फाउन्डेसन' नै खुल्यो।

त्यसपछि उनले डोल्पालाई अर्को खुसी दिए- हिमालय क्याराभान नामक संस्थामा उनले डोल्पाका अनाथ, अशाय नानीहरु ल्याएर नि:शुल्क बस्ने, खाने र पढ्ने वातावरण बनाए। संस्थामा अहिले पनि १५ भन्दा बढीले आश्रय पाएका छन्।

सरकारका लागि आज पनि डोल्पा निकै पर छ। डोल्पाका विद्यार्थीले किताब पाएका छैनन्। डोल्पाली अझै पनि घाउँ खटिरामा मल्हमको सट्टा जडिबुटी घस्न बाध्य छन्। आकाशमा हवाई जहाज उडेको देखे पनि धेरै डोल्पालीले गाडी सम्म चड्न पाएका छैनन्। भलै डोल्पाको प्राय समस्याले समाधानको उपाय पाएको छैन।

क्याराभानको सक्कली दृश्य
यसपाला हिउँ कम परेकाले गाउँ जान खासै गाह्रो नहोला भनेर एक्लो यात्रा तय गरेका थिए थिन्लेले। बाटोमा पो एक्लो हुन्छु  - सलाङमा त मेरा गाउँले छन्, परिवार छन् भन्ने भएको थियो उनलाई। तर उनले सदाको लागि एक्लो यात्रा तय गरिरहेका रहेछन्।

वैशाख १२ गते डोल्पाको सदरमुकाम दुनैबाट घरतर्फ लागेका उनी त्यहाँबाट ३ घन्टामाथि फोक्सुण्डो गाविसको छेक्पामा पुगेका थिए। उक्लिँदै गरेका उनलाई माथिबाट झर्दै गरेका खच्चडको बथानले घेर्‍यो। साँघुरो बाटोमा दोहोरो आवतजावत पक्कै सजिलो थिएन। खच्चडलाई बाटो छोड्न छेउ लागेका उनलाई अन्तिमको खच्चडले हान्यो र उनी भिरबाट झरे।

फिल्मको दृश्य
उनको पछाडि एउटा ट्रेकिङ टोली थियो। त्यो टोली समयमा नै आइपुगेन। करिब २ बजे भिरबाट लडेका उनको साँझ ५ बजे निधन भयो।
क्याराभानमा उनको छोरा लाक्पाको भिरबाट खसेर मृत्यु हुन्छ। थिन्ले त्यही बाटोको शिकार भए। सिनेमाले जीवनलाई जसरी प्रतिनिधित्व गरेको थियो, ठीक त्यसरी नै थिन्लेको मृत्युले सिनेमालाई जीवन्त बनाएको छ।


जलाउने कि गिद्धलाई खुवाउने?

फिल्मको दृश्य
उपल्लो डोल्पाको क्याराभान फिल्ममा लाक्पाको मृत्यु संस्कार देखाइएको छ। उनलाई पूजापाठपछि टुक्राटुक्रा पारिन्छ र गिद्धलाई खुवाइन्छ। के थिन्लेको शरीरको पनि यसैगरी संस्कार हुने हो? सबैलाई लागेको जिज्ञासा।

अकाल मृत्यु भएका कारण थिन्लेको शरीर काटिएको छ। गिद्धलाई खुवाउने प्रयोजनका लागि होइन – पोस्टमार्टमका लागि। शरीर निर्जिव भएपछि कुनै सजीवको आहार बन्नु धर्मको विषय पनि हो उपल्लो डोल्पामा। थिन्लेको शरीर भने चितामा जलाइने भएको छ।

आज शुक्रबार टेकुमा उनको शव चितामा राखिने छ र बौद्ध परम्पराअनुसार संस्कार अघि बढ्ने छ।

डोल्पा खुसी थियो थिन्ले लोन्डुप पाएकोमा।  त्यत्तिकै दुखी छन् डोल्पाली उनलाई गुमाउँदा पनि। डोल्पालीको मन दुखेको छ रे उनको पार्थिव शरीर गाउँ लानुको सट्टा काठमाडौं ल्याइएकोमा। शरीर काठमाडौं ल्याउनुको कारण : आज पनि त्यहाँ बाटो छैन, गाडी छैन। डोल्पाको यात्रा सहज छैन। थिन्लेको शरीर पनि सलाङ लैजानभन्दा काठमाडौ ल्याउने सजिलो पर्थ्यो।

फेरि फिल्मकै दृश्य

क्याराभानमा कठिन यात्राको नेतृत्व गर्दै थिन्लेले आफू कमजोर भएपछि नेतृत्व अरुलाई हस्तान्तरण गर्छन्। र लामाको काखमा पाठ सुन्दै मृत्यु स्वीकार्छन्।

बौद्ध परम्परा अनुसार उनको शरीरको पूजा अर्चना चार दिनसम्म लगातार गरियो। अन्तिम संस्कारका लागि आजको साइत जुराइएको छ। उनको शरीरलाई बिहान टेकु घाटमा विसर्जन गरिँदैछ।  वैशाख १२ गते निधन भएका थिन्ले ५ दिनको कर्म पूरा गरी आजबाट विलय हुँदैछन्। अनि फिल्ममा झै उनको अनुपस्थितिमा पनि क्याराभानहरु लर्को लागिरहन्छन्। निरन्तर र निरन्तर।
साभार: पहिलो पोस्ट (फोटो तथा समाचार)

,