एकै घरका चार जनाको हत्या गर्ने युवक पक्राउ परे

फोटो साभार: सेतोपाटी

सल्यानको छायाँक्षेत्र -९ रानागाउँकी सविता खाँणको परिवारका ४ जनाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षे युवक संजय भारतीलाई पक्राउ गरेको छ।

 सल्यान प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर भारतीलाई सार्वजनिक गरेको हो।

भारतीले गत १४ गते राति छिमेकी सविता खाँण, उनका साढे २ वर्ष र ११ महिनाकी छोरीसँगै  सविताकी १८ वर्षकी बहिनी गीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी श्याम खत्रीले जानकारी दिए।

प्राप्त जानकारी अनुसार मादक पदार्थ सेवन गरेका भारतीले राती सबिताको घरमा गएर उनकी बहिनि गीतामाथि बलात्कारको प्रयास गरेको डिएसपी खत्रीले बताए।
सोहि क्रममा गीताले प्रतिकार गरेपछि बाहिर निस्केका भारतीले गोठमा गाइवस्तु बाँध्ने किलो लिएर भारती आए र पालैपालो सबैलाई हानेर हत्या गरेको बुझिएको छ।

खाँडका श्रीमान भारतमा काम गर्छन्।

घटनाको बारेमा अनुसन्धान गर्न गएको प्रहरीले अपराधि पत्ता लगाउन सकिरहेको थिएन | उक्त घटनाको थप अनुसन्धानका लागि मध्य पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट भुन्टी नामको कुकुर समेत ल्याई घटनास्थलबाट अपराधि भागेको बाटो ट्रयाक पहिचान गर्न प्रहरीलाई सजिलो भयो।
 प्रहरी र कुकुरले अनुसन्धान गरिरहदा भारती पनि रमिते भएर त्यही उपस्थित थिए | त्यसपछि भुन्टीले भिडमा रहेका ५ सय जतिको बीचमा उभिएर घटनास्थल नियालिरहेका भारतीको हात टोक्दै प्रहरीलाई समात्न निर्देशन दिएको थियो |