तुवाँलोका कारण पोखरा विमानस्थलबाट उडान ठप्प

कास्की, वैशाख १६ – तुँवालोका कारण पोखराको हवाई उडान प्रभावित बनेको छ । केही दिनदेखि पोखराको आकाशमा बाक्लो तुवाँलो लागेका कारण भिजिविलिटी राम्रो नुहदाँ अल्ट्राफ्लाइट र प्याराग्लाइडिङसँगै हवाई उडान पनि प्रभावित बनेको हो ।
तुवाँलोकै कारण बुधबार दिनभरको उडान ठप्प भएको पोखरा विमानस्थलबाट बिहीबार पनि उडान हुने सम्भावना नरहेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ । बिहीबार पनि बिहानैदेखि आकाशमा बाक्लो तुवाँलो देखिएको पोखरा विमानस्थल प्रमुख दिपक बरालले बताउनुभयो ।
‘बुधबार पोखरा–काठमाडौं–पोखरा तथा पोखरा–जोमसोमका उडान सबै रद्द भए’ बरालले भन्नुभयो ‘हिजो मौसम खुलेमा उडान हुने प्रतिक्षामा वसेका यात्रुहरुलाई घर फर्काउनुपुर्यो, आजपनि उडानको सम्भावना देखिएको छैन ।’
पोखरा विमानस्थलबाट बुद्ध, तारा, यति र सिम्रिक एयरले दैनिक उडान भर्दै आएका छन् । पर्यटकीय नगरी पोखरामा विषेशगरी विदेशी पर्यटकसँगै स्वदेशी नागरिकले पनि हवाई सेवा लिँदै आएका छन् । पोखराको आकाशमा लागेको तुँवाला, ठूलो पानी नपरेसम्म तत्काल हट्ने सम्भावना नरहेको मौसम विदले बताएका छन् ।