क्षेत्रीको अन्तिम दर्शनमा नेता,पत्रकार र कलाकार : बुबाको ईच्छा अनुसार कालीगण्डकीमा अन्तिम संस्कार गरिने

तस्बिरहरु: हाम्राकुरा  डटकम


काठमाडौं : पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको दाहसंस्कार कालिगण्डकीमा गरिने पारिवारिक स्रोतले जनाएको छ। उनका बुबाको इच्छाअनुसार अन्त्येष्टिका लागि क्षेत्रीको शवलाई आज स्याङ्जातर्फ लगिएको छ।

क्षेत्रीको उपचारका क्रममा बिहीबार साँझ अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको थियो र उनको शवलाई बिहान ९ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो।

नेपाल प्रेस युनियनको केन्द्रीय सचिव रहेका ३३ वर्षीय क्षेत्रीलाई श्रद्धाञ्जली दिन नेता, मन्त्री, कलाकार तथा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरु प्रज्ञा भवन पुगेका थिए।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री चित्रबहादुर केसी, अर्थमन्त्री विष्णु पौडेल, सञ्चार मन्त्री शेरधन राई र उद्योग मन्त्री सोमप्रसाद पाण्डे प्रज्ञा भवन पुगे।

यस्तै कांग्रेस नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ आनन्दप्रसाद ढुंगाना, डा प्रकाशशरण महत, डा मिनेन्द्र रिजाल, गगन थापा, प्रदिप पौडेल पनि श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन पुगेका थिए। नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पौडेल पनि क्षेत्रीलाई श्रद्धाञ्जली दिन प्रज्ञा भवन पुगेका थिए।

यस्तै कला क्षेत्रबाट वरिष्ठ कलाकार र नीर साह, हास्यकलाकार सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' तथा थुप्रै संख्यामा लोकदोहोरी क्षेत्रका कलाकारहरुको उपस्थित रहेको थियो।

नेपाल प्रेस युनियनका बहालवाला क्षेत्रीलाई युनियनका अध्यक्षसहित वरिष्ठ पत्रकार हरिरह विरही तथा कांग्रेस नेताहरुले प्रेस युनियनको झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।

पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट नेतृत्वको टोलीले पनि क्षेत्रीलाई प्रज्ञा भवन पुगेर श्रद्धाञ्जली दिएको थियो।

गत वर्ष मंसिरमा ब्रेन ट्युमर पत्ता लागेपछि शल्यक्रिया गराएका क्षेत्रीले नयाँदिल्लीमा गएर रेडियोकिमो उपचार गराएका थिए। त्यसपछि स्वास्थ्यमा क्रमिक सुधार भएर उत्साहित बनेका उनलाई दुई महिनाअघि वान्ता हुने समस्या देखिएको थियो।

डाक्टरले औषधिको एलर्जीले त्यस्तो भएको बताए पनि उनमा पछिल्लो समय आँखामा समस्या देखिएको थियो। घरमै रहेका क्षेत्रीलाई हिजो एक्कासि समस्या देखिएपछि पुन अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। अन्तत: राति साढे ९ बजे उनको निधन भएको थियो।

स्याङ्जा स्थायी घर भएका क्षेत्रीका श्रीमती र ७ वर्षका छोरा पनि छन्।











,