सूर्यकुमार क्षेत्रीसँग मैले बिताएका पल -कुमार कान्छा घायल क्षेत्री


 
स्वर्गिय पत्रकार सँचारकर्मी कलाकार सूर्यकुमार क्षेत्रीसँग मेरो पहिलो भेट २०५७ तिर नेपाल समाचार पत्रको शाखा कार्यलय तानसेन पाल्पामा भएको थियो ।

जहाँ बरिष्ठ पत्रकार रेडियो नेपालका समाचारदाता सतिश चापागाई सर कार्यरत हुनुहुन्थ्यो । सतिश सर मेरो नी गुरू हुनुहुन्छ । म सरसँग धेरै नजिकबाट घुलमेल थिएँ । सरले मलाई धेरै चेतना भर्नु भएको थियो । सतिश सरलाई भेटन जाँदा सँजोगले सूर्यलाई भेटने अवसर जुरेको थियो । सूर्य त्यहि सतिश सरको छत्रछाँयामा एकदमै हाँसीखुशी रहेर आफुलाई सहि दिशा निर्देशन गरेको पनि मैले देखे । सूर्य आफै पनि भन्नुहुन्थ्यो "सतिश सर मेरो भगवान गुरू सबैथोक हो ।" सतिश सरको धेरै गुणगान गाऊनु हुन्थ्यो । सतिश दाईको बिहेमा पोखरा गाको बेला धेरै रमाईलो भो भनेर भन्नुहुन्थ्यो ।

यसै क्रममा सूर्य र मेरो एकदमै नजिकबाट मित्रता अघि बढदै गयो । म तानसेन आउदा मेरो प्रिय मित्र बन्नुभयो |

हामी दुई जना नै एऊटै सोच बिचार चाहना भाको परिएछ । सबै कुरा सेयर गर्न थाल्यौ । सूर्यले पनि मेरो नामलाई पहिल्यै चिनेको र मैले नी सूर्यको लेख रचना देऊराली पत्रिका र जनचेतना साप्ताहिक मा देखेको थिएँ। यसैले झन रमाईलो र सजिलो भो बुझ्नलाई । सूर्यलाई रेडियो नेपाल पोखराको कार्यक्रमहरूमा फोन गरेर गीत गाऊन र फ़र्माईस  पठाऊने आईडिया सिकाऊने नी म नै हुँ । मलाई रेडियोका कार्यक्रममा फर्माइस गरेकोले धेरैले चिन्दथे |  हामी हरेक हप्ता रेडियो नेपालको पोखरा प्रसारणबाट आउने "सुन्नुस सुनाऊनुस" कार्यक्रममा फोनबाट गीत गाऊन थाल्यौं । स्रोता सन्देश कार्यक्रममा सन्देश पठाऊन जान्थ्यौ । यी सबै हाम्रा कार्यहरू अफिसमा गएर सतिश सर लाई सुनाऊथ्यौ । सर धेरै हास्दै रमाऊदै हामीलाई प्रशंसा र हौसला दिनुहुन्थ्यो । यहि हौसलाले होला हामी दुवैजनालाई टेकोको काम गर्यो | सूर्य र म दुवै जना लोकदोहोरीको क्षेत्रमा अगाडी बढ्यौं |

सूर्य रेडियोमा गीत गाऊँदा स्वर्गिय लोक गायक लोक बहादुर क्षेत्रीको 'आमा रूदैं गाऊँबेशी मेलैमा' भन्ने गीत धेरै गाऊनु हुन्थ्यो । लोक बहादुर क्षेत्रीको धेरै ठूलो फ्यान हुनुहुन्थ्यो । लोक बहादुर क्षेत्रीको जिबनी सँकलन र रिपोर्टिङको लागी क्षेत्री निवाश बर्दाघाट नवलपरासी पुगेको र त्यसको खोजी समाचार लेखेको पनि मलाई याद छ । सबै हिजो जस्तै लाग्दछ |

साथै श्रीनगर एफ. एममा लोक दोहोरी कार्यक्रम पनि चलाऊनु थाल्नु भयो । त्यतिबेला लोक दोहोरी गायक बिष्णु खत्रीको 'पछुतो' एल्बम बजारमा एकदमै चर्चामा थियो ।पछुतो एल्बमको प्रमोशनको लागी बिष्णु खत्रीलाई काठमाडौबाट अतिथि कलाकारको रूपमा निमत्याएर आफ्नो कार्यक्रम कुराकानी गर्ने पहिलो आरजे पनि सूर्य नै हुनुहुन्थ्यो ।

 यस्तै पल सम्झिने क्रममा बसपार्कमा म:म र छोयला भट्ट खान्थ्यौ । टूडिखेलमा पोलेको मकै र सेकुवा, बदाम सबै झल्झलि आऊँछ । लोक दोहोरी गायक कमल खनाल सरको भैरव क्यासेट सेन्टरमा हामी दिन दिनै नयाँ-नयाँ एल्बमका गीत सुन्न जान्थ्यौ । कमल सर पनि लोक दोहोरी गायक भएकोले हाम्रो कुरा धेरै मिल्थ्यो | त्यसपछि म एक्कासी सबैबाट टाढा हुन पुगे | बिशेष लक्ष्य सहित मुम्बईको यात्रा तय गरे ।

धेरै बर्षपछि नेपालबाट आऊने साथीहरूले अडियो क्यासेट र भिसिडी का चक्काहरू लिएर आऊथे । जता हेर्छु सूर्य कुमार क्षेत्रीका लोक दोहोरी एल्बम हुन्थे | 'औठी चिनो छ',  'पानी पधेंरो',  'धानको सिरौला',  'के भनौ र खोई', बजारमा जताततै भेटिन्थे | छोटो समय मै सूर्य जीलेधेरै नाम कमाउनु भयो |  यति बेलासम्म सूर्य धेरै ठूलो कलाकार बनि सक्नु भएको थियो । साथीको प्रगति देखेर म खुशीले गदगद थिएँ ।

मैले सोचे सूर्य सरलाई एकदिन मुम्बई प्रोग्राममा आउने पक्कै चाँजो पाँजो मिलाऊछु । नभन्दै मैले सोचे झै भयो | सूर्य सर मुम्बई आऊनु भयो । म छु भनेर खुशीले हाम्फालेर आऊनु भो । लोक दोहोरी गायिका सिता के सीसँग दोहोरी पनि गाऊनु भो । मलाई अझै सम्झना छ एऊटा एकल गीत सूर्यले गाऊनु भाको -

अहिले पनि परेयो है ढाटन
अग्लो रूखमा नचढे घाँस काटन।
रेलमा चढेसी
तिम्रै याद झन आयो मुम्बई झरेसी...।

यस्तै-यस्तै खुब रमाईलो भयो । मुम्बई बसाई सबैभन्दा नजिकको साथी म नै थिएँ । यसैले सूर्य निसफिक्री रमाऊनु भयो । फेरि अर्को चोटी पनि आऊनू भयो । उहाँ काठमाडौँ म मुम्बई मै भएपनि हाम्रो कुराकानी भईरहन्थ्यो | ति सबै पल मन मस्तिष्कमा अमिट छाप बनेर बसेका छन ।

पोहोर साल एक्कासी बिमार भएर दिल्ली आऊनु भो र उपचारपछि ठिक भएर जानु भो । पछि फेरि दिल्लि आऊनु भो चेकअपको लागि | "म ठिक भएँ सर चिन्ता नगर्नु |दिल्लिमा अलि बोर लाईराछ मलाई, बेला-बेला फोन गर्नु है" सर भन्नुहुन्थ्यो । मैले टाईम टाईममा फोन गरिरहन्थे | रमाईलो कुरा हुन्थ्यो । दु:ख सुखका कुरा हुन्थ्यो |

आज एकादेशको कथा झै लाग्दैछ यी सबै हाम्रा स्वर्णिम पलहरू । सपना जस्तो पनि लाग्दैछ | जब फेसबुक र अनलाईनमा सूर्य सरको निधनको बारेमा खबर देखे अरुजस्तै मैले पनि पत्याउन सकिन | तर सत्य सत्य नै हो | पत्याउन करै लाग्यो | मैले मानिसको जीवनका बारेमा केहि सोच्नै सकिरहेको छैन | भगवानले जे गर्यो अन्याय गर्यो | जीवनको छोटो अवधिमा सूर्य सरले लामो सम्झना राखेर जानु भएको छ | हामी बाच्नेहरुले उहाँको जीवन संघर्षबाट धेरै कुरा सिक्न बाँकी छ |

अन्त्यमा, जाँदा जाँदै सरको आत्माले शान्ति पावस हार्दिक श्रद्धाञ्जली । भन्दै ऊहाँले नै कलम चलाऊनु भाको एक लाईन गीत गुनगुनाऊन चाहन्छु।

रेटेयौ छुरी चलायौ हुरी
अग्लो देख्यौ पराईको घर धुरी।।
जता हेरेयो ऊतै अधेरो
पापिनीलाई नभेटौ भनेको एऊटै परेयो पानी पधेरो ।।
हाल मुम्बई