प्रभावित क्षेत्रमा राष्ट्रपति र प्रधानमन्त्री : झन् कुँडियो पीडितको मन

काठमाडौं, १३ बैशाख, भूकम्पको केन्द्र बारपाकका स्थानीयले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत ढिलै भए पनि ‘सुखद सन्देश’ पाउने अपेक्षा गरेका थिए, तर पाएनन् । राष्ट्रपतिले स्मृतिपार्क र एक भूकम्प पीडितको घर शिलान्यास गरिन् र फर्किइन् । अपेक्षामा तुषारापात भएपछि पीडितको मन झन् कुँडियो ।

उता, सिन्धुपाल्चोकको चौतारामा प्रधानमन्त्री केपी ओलीबाट पनि पीडितले ‘ठूलै’ आस गरेका थिए । तर प्रधानमन्त्रीले उल्टै ‘स्वस्थानीको कथामा जस्तो रातारात घर बन्दैन’ भनेपछि खिन्न बने पीडितहरू ।

गोरखा र सिन्धुपाल्चोक पुनर्निर्माण ढिलो सुरु भएका जिल्ला हुन् । भूकम्प गएको एक वर्ष पुगेका दिन राष्ट्राध्यक्ष र सरकार प्रमुख गोरखा र सिन्धुपाल्चोक पुगेका हुन् ।
‘राष्ट्रपतिले हामी पीडितका लागि एक शब्द पनि बोल्नु भएन,’ स्थानीय पुरमाया गुरुङले गुनासो गरिन् । सम्बोधन नगरेकोमा स्थानीयवासीले चित्त दुखाए । राष्ट्रपति फर्केपछि औपचारिक कार्यक्रम नै केहीबेर स्थगित हुन पुग्यो । असन्तुष्ट स्थानीयले मञ्चको माइक समातेर ‘राष्ट्रपतिले हाम्रा लागि दुई शब्द पनि खर्च गर्न सक्नुभएन’ भनेर गुनासो गरे ।

‘एक वर्षसम्म गाउँमा नेता, प्रधानमन्त्री, मन्त्री, सभासद, विदेशी राजदूत कति आए कति, तर हामीले केही पाएनौं,’ स्थानीय वीरबहादुर गुरुङले भने । खाने/लाउने राहत पाए पनि ओत लाग्ने बास नपाएको उनको दुखेसो थियो ।

गाउँमा राष्ट्रपति आउने भनेर कटवाल कराए पनि बिहानभर सर्वसाधारण बारीकै काममा व्यस्त थिए । कतिपय घर निर्माणमा तल्लिन रहेको देखियो । वर्ष दिनअघि आफन्त गुमाएकाहरू वार्षिकी कर्ममा व्यस्त थिए । गाउँका अगुवा मात्रै कार्यक्रमको तयारीमा जुटेका भेटिए । आकाशमा उडेको हेलिकप्टर गाउँतिर सोझिएपछि भने पीडितहरू हतार–हतार उपस्थित भए ।

तर राष्ट्रपति बोल्दै नबोली फर्केपछि पीडितहरू आफ्ना टहरातिर फर्के । हेलिकप्टरमा बारपाक पुगेकी राष्ट्रपतिले करिब ४५ मिनेट बारपाकमा बिताइन् । स्मारक र बारपाक–४ का गोपाल विकको घरको शिलान्यास गरिन् । गाविस सचिव चेतप्रसाद अम्गाईंसँग विकले दुई लाख अनुदान सम्झौता गरेपछि घरको शिलान्यास भएको हो । हंसपुर गाविसबाट यसअघि नै अनुदान सम्झौता प्रक्रिया सुरु भए पनि पीडितले पहिलो किस्ताको ५० हजार अझै पाइसकेका छैनन् । प्राविधिक टोलीले बारपाकमा १ हजार २ सय ९४ घरधुरीको नामावली सार्वजनिक गरेको छ ।

भूकम्पमा दिवंगत भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेर राष्ट्रपति भण्डारी छिमेकी गाविस लाप्राक गइन् । इपिसेन्टर बारपाकमा यो पहिलोपल्ट राष्ट्रपतिको उपस्थिति हो । तत्कालीन राष्ट्रपति सुरक्षाको कारण देखाउँदै छिमेकी सौरपानीको भ्रमण गरेर फर्केका थिए ।

राष्ट्रपति गाउँमा आउने खबरले उत्साहित बारपाकवासी एक वर्षपछि पनि पुनर्निर्माणसम्बन्धी कुनै ठोस योजना नपाएको भन्दै असन्तुष्ट भए ।

भूकम्पको स्मृतिमा दुई दिनसम्म विविध कार्यक्रम गर्ने तयारी छ । बारपाककै थोतोर डाँडा क्षेत्र र इम्पचिना सामुदायिक क्षेत्रमा पार्क निर्माण गर्ने भनिएको छ । पार्कमा भूकम्प स्तम्भ बनाइने गाविस सचिव अम्गाईंले बताए । बारपाककै दलितबस्तीको जग्गा अतिक्रमण गरेर भूकम्प संग्रहालयसमेत निर्माण गर्ने तयारी भएको स्थानीय अगुवा सुकबहादुर विकले बताए । ‘भूकम्पले भत्काएको दलितहरूको घर जस्ताको तस्तै राखेर संग्रहालय बनाउन सकिन्छ,’ उनले भने, ‘दलितलाई मुआब्जा दिएर अन्यत्र बसोबासको प्रबन्ध मिलाउनुपर्छ ।’
कान्तिपुरबाट