पत्नीको मृत्यु भएको खबर सुनेर पतिको पनि मृत्यु

महोत्तरी, वैशाख १८ - सर्लाहीको हरिवन घर भएका एक दम्पतीको एक दिनको फरकमा निधन भएको छ । हरिवन-११ बासाटोलकी ७७ वर्षकी टपकुमारी खड्काको ज्यान गएको खबर सुनेपछि पति ८६ वर्षका समशेरबहादुर खड्काको पनि निधन भएको हो । टपकुमारीको शुक्रबार बिहान ११ बजे र समशेरबहादुरको शनिबार बिहान ४ बजे निधन भएको उहाँहरुका साईंला छोरा विष्णु खड्काले जानकारी दिए । टपकुमारी खड्काको शिक्षण अस्पताल काठमाडौं महाराजगञ्ज र समशेरबहादुर खड्काको शिभिल अस्पताल नयाँ बानेश्वरमा निधन भएको हो । बुढाबुढी दुबैजना एकै पटक बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो ।
आमा स्वर्गे भएको खबर सुनाउनासाथ बुवाको पनि ज्यान गएको छोरा विष्णुले बताए । काठमाडौंमै आमाको किरिया बसेका चारै भाई छोरा बुवाको पनि ज्यान गएपछि किरिया बस्न घर फर्किएका छन् । पशुपति आर्यघाटमा शनिबार बिहान बुवाको अन्तिम संस्कार गरेपछि आफूहरु चारै भाई आमाबुवाको घरमै काजकिरिया गर्ने गरि घर फर्किएको बिष्णुले बताए