पशुपतिमा गाँजा बेचेको आरोपमा चार महिलासहित ५ जना पक्राउ

काठमाडौं, वैशाख १९ - प्रहरीले काठमाडौंको गौशाला, बनकाली, पशुपति क्षेत्रमा लुकिछिपि गाँजा बेचेको आरोपमा प्रहरीले  चार महिलासहित ५ जनाालाई पक्रेको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी ७ घर भई भक्तपुर ठिमी बस्ने बर्ष ४४ की लालमाया गुरुङ्ग, सिन्धुपाल्चोक फाटकसिला ९ घर भई काठमाडौंको सिनामंगलमा बस्ने बर्ष २३ की विद्या अधिकारी, सिरहा बिष्णुपुरकट्टी ७ घर भई, काठमाडौं ९ बिजयचोक बस्ने बर्ष २२ की काली भन्ने सरिता यादव छन् । उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । लालमाया गुरुङको साथबाट २ किलो, काली भन्ने सरिता यादवको डेरा कोठाबाट ७ किलो गाँजा वरामद गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । सिन्धुली डाँडीगुरासे ५ घर भई काठमाडौंको थली बस्ने बर्ष ५८ को दिलबहादुर लामालाई भने प्रहरीले आइतबार विजयचोकबाट पक्रेको हो । उनलाई बेच्नका लागि डेढ किलो गाँजा बोकेर हिँडिरहेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि दोलखाको मैनापोखरी घर भई गौशालामा बस्ने ३२ वर्षे पार्वती दाहाललाई गत बिहीबार प्रहरीले पक्रेको थियो । उनको साथबाट प्रहरीले १ किलो ४९ ग्राम गाँजा वरामद गरेको थियो । पक्राउ परेकाहरुमाथि लागु औषध मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।