२४ घन्टामा ९ जना सर्पले टोकेका विरामी

महोत्तरी, जेठ ४ – जेठ गर्मी वढेसँगै सर्लाहीमा सर्पदंशका विरामी वढेका छन् । पछिल्लो २४ घण्टामा सर्लाहीको नबलपुरमा रहेको सपदंश उपचार केन्द्रमा मात्रै सर्पले टोकेका ९ जना विरामी उपचारको लागि आएका छन् । सर्लाहीमा जिल्ला अस्पताल मलंगवा र नबलपुरमा सर्प दंशको उपचार हुन्छ । पछिल्लो २४ घण्टामा गोबन र करेत जस्ता विषालु सर्पले टोकेका २ सहित ९ जना विरामी उपचारको लागि केन्द्रमा आएका सर्प दंश उपचार केन्द्र नबलपुरकी अनमी कल्पना मैनालीले जानकारी दिनुभयो । दुई जनाले आफूलाई टोक्ने सर्प नै देखेका थिए । बाँकी ७ जना भने सर्पले टोकेको आशंकामा उपचार केन्द्रमा पुगेका हुन् । विषको लक्षण नदेखिएका सात जना विरामीलाई स्वास्थ्यकर्मीले निगरानीमा राखेका छन् ।
उपचारको लागि पुगेका धेरै विरामीले खेतबारी र गाई गोठमा काम गर्दा र राती सुतेको बेला आफूलाई सर्पले टोकेको बताएका छन् । केही विरामीले भने विहान झिसमिसेमै शौच गर्न मैदान गएको बेला आफूलाई सर्पले टोकेको बताएका छन् ।