जाल्टन इब्राहिमोविचले फेरि बनाए कीर्तिमान

एजेन्सी जेठ. २ – जाल्टन इब्राहिमोविचले पेरिस सेन्ट जर्मेन पिएसजीमा आफ्नो अन्तिम लिग खेलमा दुई गोल गरेका छन् । फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति भएको पिएसजीको यो सिजनको लिगाको अन्तिम खेल इब्राहिमोविचका लागि भने पिएसजीबाट फ्रेन्च लिगमा अन्तिम खेल थियो । पिएसजीले यसअघि नै लिगको उपाधि पक्का गरिसकेको थियो । इब्राहिमोविचले यो सिजनपछि पिएसजी छाड्दै छन् । इब्राहिमोविचको दुई गोलको मद्दतमा पिएसजीले नान्टलाई ४–० ले हरायो । इब्राहिमोविचले १७ र ८९ औं मिनेटमा गरी दुई गोल गरेका हुन् । पिएसजीका लागि थप दुई गोल ४३ औं मिनेटमा लुकास मौरा र ५२ औं मिनेटमा मार्किनुसले गरे । इब्राहिमोविच लिगमा एक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । यो सिजन लिगमा ३८ गोल गरेका इब्राहिमोविचले सन् १९७७–७८ को सिजनमा ३७ गोल गरेर कार्लोस बिएनचीले बनाएको कीर्तिमान भंग गरेका हुन् । ३४ वर्षका स्वीडिस इब्राहिमोविचले पिएसजीबाट एक सय ७९ खेलमा एक सय ५४ गोल गरेका छन् । उनले पिएसजीमा चार सिजन बिताए । आउँदो शनिबार फ्रेन्च कपको फाइनल अन्तर्गत मार्सेइलीसँगको खेल पिएसजीबाट इब्राहिमोविचको अन्तिम खेल हुनेछ ।