क्षितिज -शान्ति प्रियवन्दना



म कुनै अमूर्त कविता वा
कलाको पारखी होइन
मलाई त मन पर्छ जीवनदायी कविता
जहाँ
मनका भावनाहरू छताछुल्ल भेटिउन
मलाई मन पर्ने गर्दछ मूर्तकला
जहाँ रङ्गहरुका संमिश्रण भित्र
जीवनको गोरेटो पहिल्याउन सकियोस् ।

म निदाउन सक्दिन अवेरसम्म
जाग्ने गर्दछु निकै बिहान तारा ननिदाउँदै
तर पनि केही कैफियत रहन्छ सधैभरी
जागा रहेता पनि जाग्राम जस्तो रहन्न
बन्द कोठा, त्यसभित्र रुमलिएको हावा
रोशनदानी हुँदै प्रवेशको पर्खाइमा बसेको उज्यालो
रातका अर्धचेत सपनाहरू
अङ्क वा ज्यामितीय विगतआगतका पन्नाहरु
मनको चौतारोमा एकीकृत हुन्दै जान्छन्
र संबादको थालनी गर्न थाल्दछन् ।

संवादहरू नियन्त्रणमा रहँदैन् हमेशा
नत कुनै टुङ्गोमा पुगेर बिश्राम लिने गर्दछन्
विना पूर्णविराम
बन्दढोका छिचोल्दै आवेगहरू पार हुने गर्दछन्
पुग्ने गर्दछन् आगनको डिलमा
र उज्यालिँदै गरेको क्षितिजसंग
संवाद गर्न थाल्दछन् ।

हरेक दिन क्षितिज उज्यालिन्छ
हरेक दिन बादलको घेरा सुनौलो बन्ने गर्दछ
यही उज्याले क्षितिज
यही सुनौलो बादलको घेरा
सायद मेरा अर्धचेत सपनाहरुको पूर्णता हो ।

हेटौडा—४, मकवानपुर ।