आऊ ! आज मर्यादाको कुरा गरौं -मैया सुवेदी


आऊ ! आज मर्यादाको कुरा गरौं
      -मैया सुवेदी

जन्मिने हो सबै वस्त्रविहिन जन्मदा
जात, धर्म वा पेसा हुँदैन कसैको
शवरीको कथा भुल्नेहरु
महात्मा र अब्राहमलाई छल्नेहरु
अधिकारवादीले बनाएको धर्मशास्त्र
जन्मकै आधारमा केहीलाई
उच्च बनाउन खोज्नेहरू
आऊ आज मर्यादाको कुरा गरौं

जब बालक जन्मन्छ
ऊ त पबित्र हुन्छ जलसमान
जन्मेपछि समाजले उसलाई
गुथाइदिन्छ पगरी उचनीचको
मानिने गरिन्छ त्यसैलाई सत्य
शोषितको टाउकोमा टेकेर
पालिन चाहने पुरोहितहरु
जातपात र छुवाछुतको प्रथालाई
च्यापेका हुन्छन् काखीमा
र मेटाइदिन्छन सिर्जनशीलता,
नवीनता र अन्तरक्षमतालाई
आऊ ! आज मर्यादाको कुरा गरौं

शील,स्वभाव र संस्कार नभएकाहरु
ब्यस्त छन् आफै उच्च बनाउन
आफ्ना सन्तान र आफ्नाहरुलाई
तर उनीहरु नै मान्दैनन् जातभात
जव आउने गर्दछ स्वार्थको कुरो
जान्न चाहँदैनन् जो जान्नु पर्ने हो
समाजलाई बिखण्डन कस्ले ग¥यो भनेर
जव लिएर बाच्नु पर्दा रगत
सोच्दैनन् कसको रगत बगेको छ भनेर
अशिक्षित र अज्ञानीका आँसु पिएर
आत्मागान गाउनुमा नै
उच्चता र कर्तव्य ठान्ने गर्दछन्
यिनमा हुँदैन कत्तिपनि मानवीयता
आऊ आज मर्यादाको कुरा गरौं

चिन्नु पर्छ आफूभित्र निहित मानिसलाई
अभिमान मिल्काउनु पर्छ उच्चताको
जन्म हुन्छ महान् सिर्जना
उसले गर्ने असल व्यवहारले
आऊ आज मर्यादाको कुरा गरौं

ठाउँ मेट्नु पर्छ बिरोधको
पर्छ जलाउनु चेतनाको दीप
जब एकगास खाना र बस्ने ओतकोलागि
अवसर सिर्जना हुन्छन् रोजगारीका
अनि च्यातिने छ पर्दा शोषणको
देखिने छ वास्तविकता
बौद्धिकता र मानवताको
हुनेछ शङ्खघोष्,निस्कने छन् ध्वनिहरु
अन्तनिहित क्षमताको
आऊ आज मर्यादाको कुरा गरौं |