आगलागीवाट गुल्मीको वडागाउँमा ५ सय ५० जना विस्थापित


गुल्मी  वैशाख, १९ - गुल्मीको बडागाउँमा शनिवार भएको आगलागीबाट ६४ घर जलेर पूर्ण रुपमा नष्ट भएपछि यतिवेला त्यस क्षेत्रका ५ सय ५० जना भन्दा धेरै विस्थापित बनेका छन् ।

 घरगोठसहित सम्पूर्ण सामग्रीहरु जलेर खरानी भएपछि उनीहरु यतिवेला आश्रयको खोजीमा छन् ।

शिक्षक हरि छन्त्यालका अनुसार तल्लो दजाकोट र माझगाउँका ९० प्रतिशत घर पूर्ण रुपमा जलेपछि यति वेला त्यस क्षेत्रका मानिसहरु अझै पनि त्रसित बनेका छन् । आगलागीवाट शनिवार बडागाउ १ तल्लो दजाकोटमा ६६ वर्षे मेहरसिंह राजकोटीको ज्यान गएको थियो ।

गाउँमा लागेको आगो अझै पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । नेपाली सेना, प्रहरी शसस्त्र प्रहरी तथा स्थानीयवासिन्दाले आइतवार दिनभर पनि घरमा सल्केको आगो निभाउने कामका लागि परेका छन् । आगलागी पीडितहरु नजिकैको विद्यालय र बारीका पाटा आश्रय लिएर वसिरहेका छन् ।

आगलागी भएको क्षेत्रमा खानेपानीको यतिवेला निकै हाहाकार भएको छ । गाउँमा खानेपानी नभएका कारण वरिपरिका छिमेकी गाविसका मानिसहरुले ट्यांकर र ट्रयाक्टरमा खानेपानी वोकेर अग्नी पीडितहरुलाई खुवाईरहेका छन् ।

जिल्ला दैविप्रकोप उद्धार समिति, नेपाल रेडक्रस, जिल्ला विकास समिति, लगायतका विभिन्न संघ संस्थाहरुले पीडितहरुलाई त्रिपाल, कम्मल, भाँडाकुँडा तथा खाद्य सामग्री उपलव्ध गराउने काम सुरु गरे त्यो पर्याप्त हुन सकेको छैन । अग्नी पीडितहरुलाई सहयोग गर्नका लागि सदरमुकाम तम्घासमा आइतवार विहानैदेखि राहत रकम र राहत सामग्री संकलन हुरु गरिएको छ ।

गुल्मी उद्योग वाणिज्य संघ, स्थानीय शान्ति समिति र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा राहत संकलन सुरु गरिएको हो । राहत संकलनको क्रममा व्यपारी, व्यवसायी तथा विभिन्न व्यक्तिहरुले नगद, जिन्सी, लगायतका सामग्री उपलव्ध गराएका छन् ।