प्रधानमन्त्री ओली संसद विघटनबारे परामर्शमा

काठमाडौं वैशाख, २२ –

मुख्य सत्ता साझेदार एकीकृत माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आह्वान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली भावी रणनीति बनाउन व्यस्त हुनुभएको छ ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्का भएपछि प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु आफू सुरक्षित हुने गरी भावी रणनीति बनाउन व्यस्त भएका हुन् ।

माओवादीले समर्थन फिर्ता लिएपछि स्वभाविक रुपमा राजीनामा गर्ने कि संसद विघटन गर्ने भन्ने दुईवटा विकल्पमा प्रधानमन्त्रीले परामर्श गरिरहेको स्रोतको भनाई छ ।

 संसद विघटन गर्दा धेरै खालका संवैधानिक जटिलता आउनसक्ने भएकाले सकेसम्म त्यो बाटोमा जान नहुने एमाले नेताहरुले प्रधानमन्त्रीलाई सुझाएका छन् ।

एमाले नेता गंगाधर तुलाधरले भन्नुभयो, ‘प्रधानमन्त्री अबको बाटोबारे विभिन्न चरणमा परामर्श गरिहरनुभएको छ । हामीले विघटनतर्फ जान नहुने सुझाव दिएका छौं । तर, छलफल जारी छ ।’ उहाँले कानुन व्यवासायीहरुसँग पनि परामर्श गरिरहनुभएको छ ।

संविधानको धारा २९६ मा यो संसदको अवधि २०७४ साल माघ ७ गतेसम्म हुने उल्लेख छ ।