गाँजासहित एक भारतीय पक्राउ

नवलपरासी, २ जेठ- नवलपरासीमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको सुरक्षा गस्ती टोलीले शनिबार तीन किलो लागऔषध गाँजासहित एक भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर विष्टको नेतृत्वको टोलीले चेकजाँचका क्रममा लु१ज ५२ नंको यात्रुबाहक जिपमा सवार जिल्ला महाराजगन्ज ग्राम सिन्दुरीया भारत बस्ने ५० वर्षीय रामदेव केवटलाई गाँजासहित पक्राउ गरेको हो । बरामद गाँजासहित केवटलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नवलपरासी पठाइएको सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोख्रेलले जानकारी दिनुभयो ।
केवटले उक्त गांँजा नवलपरासीको रामनगर गाविस–९ स्थित भथौडी गाउँको एक झुपडीबाट ल्याएको बताएका छन् । सुराकीका आधारमा पछ्याउँदै गएको सशस्त्रको टोलीले उक्त झुपडीबाट पुनः डेढ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । प्रहरीका अनुसार यसअघि पनि उनले तीन पटकसम्म सोही झुपडीमा पुगेर गाँजा लैजाने गरेका थिए । रासस