कांग्रेस आएपनि नआएपनि सरकार रहिरहन्छः उद्योगमन्त्री पाण्डे



काठमाडौ–उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आगामी २०७४ साल माघ ६ गतेसम्म केपी शर्मा ओली नेतृत्वको सरकार नै रहने दावी गरेको खबर नागरिकमा प्रकाशित छ |

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, 'यो सरकार संविधानको धारा २९८ अनुसार बनेको हो ।

त्यसअनुसार दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउने बाटो पनि छैन । अर्को सरकार गठन गर्ने बिधी नै छैन ।' उनले भने 'त्यसैले अहिले यो सरकार ढल्दैन, २०७४ साल माघ ७ गतेसम्म रहन्छ ।'

मन्त्री पाण्डेले नेपाली कांग्रेस आए यही सरकार सहमतिको सरकारमा रुपान्तरण हुने बताउँदै नआए यही सरकार रहने दावी गरे ।

उनले संविधान जारी भएपछि अब मुलुक आर्थिक समृद्धिको दिशमा केन्द्रीत भएको भन्दै आगामी तीन वर्षभित्रमा पेट्रोलियम पदार्थसहित नेपालमा रहेका सबै खानीको अध्ययन गरेर उत्खनन गर्ने काम सुरु गर्ने जानकारी दिए ।

मन्त्री पाण्डेले चीनबाट आएको टोलीले ब्लक नम्बर ३ को दैलेख र दश नम्बरको मोरङमा पेट्रोलियम खानीको अध्ययन गरि प्रारम्भिक नजिताबाट उत्साहित भएको भन्दै अब एक महिनाभित्र पूर्ण प्रतिवेदन बनाएपछि ड्रिल गर्ने काम सुरु गर्ने जानकारी दिए ।

उनले भने, 'ब्लक नम्बर ३ र १० मा उत्खनन गर्न आवश्यक ईन्धन भएको उनीहरुको प्रारम्भिक अनुमान छ । एक महिनामा पूर्ण प्रतिवेदन आएपछि ड्रिल गर्ने काम गर्छन् ।'

दैलेख र मुस्ताङ्गमा पेट्रोलियम ग्यास पाईएकोले त्यसलाई पनि उत्खननको काम सुरु हुने बताउँदै मन्त्री पाण्डेले जाईकाको प्रतिवेदन अनुसार काठमाडौमा रहेको मिथेन ग्यासको उत्खननको काम सुरु भईसकेको बताए । उनले ईमाडोल र टेकु पचलीमा तत्खनन सुरु भएको र हात्तिबन र तीनकुनेको कुवामा उत्खननको काम केही दिनमा अघि बढ्ने बताए ।

मन्त्री पाण्डेले नवलपरासीको धौबाजीमा १० किलोमिटर क्षेत्रमा फलाम खानी पाईएको र रामेछापको ठेसो र फुल्चोकी डाडाँमा पनि फलाम खानी पाएकोले त्यसको अनुसन्धान र उत्खनाको कार्यक्रम अघि बढाउने जानकारी दिदै युरेनियमको खोजीको काम समेत अघि बढाईसकिएको बताए ।