नेपाली भाषा कक्षाका बिद्यार्थीहरुलाई प्रमाण पत्र वितरण

मेरिल्याण्ड, बाल्टिमोर

अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा संचालन भएको नेपाली भाषा कक्षाको पहिलो सत्रका बिद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ | एकेडमी अफ नेपाली ल्याङ्गवेज एण्ड कल्चर्सको आयोजनामा भएको कार्यक्रममा मेरिल्याण्ड राज्यका गभर्नरका माईनरिटी अफेयर सेक्रेटरी जिम रीले प्रमुख अतिथिको आसनबाट बालबालिका हरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो |

सो अवसरमा बोल्नु हुदै सेक्रेटरी जिमले नेपाली भाषा र संस्कृतिलाई  मेरिल्याण्डमा विकास हुने अवसर प्रदान गर्न आफु सधै तत्पर रहने बताउनु भयो | उहाँले बालबालिकालाई आफ्नो भाषाको ज्ञान हुनु पछिसम्मको लागी फाईदाजनक कुरा भएको बताउनु भयो |

उक्त कार्यक्रममा मेरिल्याण्डका दुई जना हाउस अफ डेलिगेट्स क्रिस्चिन मिलि र डा. जे जेलसी, बाल्टिमोरमा सबैभन्दा पहिला नेपाली भाषा कक्षा संचालन गर्नुभएका बानाकी पुर्ब अध्यक्ष तथा एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना थापा, संयोजक डा.भिम कट्टेलले पनि बोल्नु भएको थियो | कार्यक्रममा नेपाली भाषा प्रबर्दनमा सहयोग गर्नु हुने बिजय श्रेष्ठ, भुबनेश्वरी बन्जाडे, सिर्जना खनाल उप्रेती, बिष्णु शर्मा र सतिश चापागाईंलाई सम्मान स्वरूप प्रमाण पत्र वितरण गरिएको थियो |

कार्यक्रममा बालबालिकाहरुले नेपाली भाषामा आफ्नो प्रस्तुति देखाएका थिए | कार्यक्रमको संचालन नेपाली भाषाका शिक्षक सतिश चापागाईंले संचालन गर्नु भएको थियो | एकेडेमीका कार्यकारी अध्यक्ष श्याम कार्कीको सभापतित्वमा कार्यक्रम भएको थियो |