७२ वर्षमा बल्ल पाइयो नागरिकता

बाग्लुङ वैशाख, २७ – परिवारमा सहयोग गर्ने कोही भएन भने राज्यबाट पाउने सेवा सुविधा पाउन पनि कठिन कार्य नै हो भन्ने कुरा एक वृद्धाले सात दशक पार गरेपछि नागरिकता पाउनुले पुष्टी गरेको छ ।
बाग्लुङको नरेठाटी गाविस—२ जस्कुरकी पवित्रा कामीलाई नागरिकता पाउन पनि ७१ वर्ष पुग्नु प¥यो । २००१ साल असोज १४ गते जन्मिएकी पवित्राले ७२ वर्षको उमेरमा ०७३ बैशाख २६ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गर्नु भएको छ । यद्यपी प्राप्त नागरिकतामा भने उहाँको जन्म २००२ साल उल्लेख छ । सानैमा आमा बाबुको निधन भएको र माइतीमै बस्दै आउनुभएकी अविवाहित पवित्रालाई भदैनी बुहारी सुन्तली विकको सक्रियतामा यो उमेरमा नागरिकता प्राप्त भएको हो ।  ‘बुवा आमाको सानैमा निधन भयो, दाइ भाइहरु पनि कोही कता कोही कता, विवाह पनि गरिएन, नागरिकता बनाउने बारेमा जानकारी पनि भएन, कसैले पहिला भन्दा पनि भनेनन्, कसरी नागरिकता पाउनु ?’ पवित्राले भन्नुभयो ।
विवाह नभएकी पवित्रालाई१० वर्षदेखि उहाकै भाई दुर्गाबहादुर विककी बुहारीले पाल्दै आउनु भएको छ । श्रीमान पूर्णबहादुर विक विदेशमा रहेको र छोरा छोरी साना भएकाले फुपु सासुको नागरिकता बनाउन बजार आउने मौका नमिलेको उल्लेख गर्दै भतिजी बुहारी सुन्तली विकले यस पटक सबै चाँजोपाँचो मिलाएर नागरिकता बनाउन आएको र बल्ल तल्ल पाएको बताए।
बुवा, आमा तथा दाजुभाइको नागरिकता लगायत कुनै पनि कागजपत्र नभएकोले नागरिकता दिन समस्या परेपनि भतिजी बुहारीलाई आधार मानेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णराज गौतमले जानकारी दिए ।  पवित्राको नागरिकताका लागि बुहारी सुन्तली र प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्मा साक्षी बस्नुभएको छ । बुहारीलाई आधार मानेर पत्रकारको रोहवरमा नागरिकता प्रदान गरिएको गौतमले बताए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौतमबाट ४०१७३००३३१ नम्बरको नागरिकता प्राप्त गरेपछि पवित्राले उमेर ढल्केपछि नै भएपनि नागरिकता पाएर खुशी लागेको बताउनुभयो । २ वर्षदेखि आँखा नदेख्ने समस्याबाट पीडित पवित्राले अबदेखि सामाजिक सुरक्षा भत्ता पाउनु हुनेछ । नागरिकता नभएकै कारण उहाँ यो सेवाबाट वञ्चित हुनु भएको थियो ।