मिल्न खोजिएका हात फेरी रोकिए

काठमाडौं जेठ, १-पोखरामा सार्क मन्त्रिपरिषद् बैठक भएका बेला भारतका विदेशमन्त्री सुष्मा स्वराजले ४ चैतमा प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्रि कमल थापासँग वार्ता गरिन् । त्यसयता नेपाल र भारत सरकारबीच राजनीतिक तहमा संवाद ठप्प छ । प्रधानमन्त्री ओलीका राजकीय भ्रमण (७–१२ फागुन) बाट पनि नेपाल र भारतबीच उच्च नेतृत्व तहमा समझदारी कायम हुन सकेन् । पछिल्लोपटक सरकार परिवर्तनको एमाओवादी–कांग्रेस कसरत सफल नभए पनि यस घटनाले भारतप्रति प्रधानमन्त्री ओली रुष्ट छन् । यो घटनाको प्रतिक्रियास्वरुप सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको २७ वैशाखदेखि २ जेठसम्मको भारत भ्रमणको कार्यक्रम रद्द गरेको थियो । सरकार फाल्न सक्रिय रहेको आरोपसहित दिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायलाई पदमुक्त गरेर फिर्ता बोलाएपछि नेपाल–भारत सम्बन्ध झनै चिसिएको छ ।