आमा -ई.रोशन पुन

आमा


ई.रोशन पुन
समयको पिँध सम्म पुगेर
दृष्टिगोचर गर्ने मन छ
कैले शुरुवात भएको होला — यो श्रृंखला
आमा र सन्तानको श्रृंखला

डाक्टर सा’प !
मलाइ जाँचेर भन्नु त
कति चुम्बन परेका छन् आमाका — यो गालामा ?
कति स्वर्णिम आर्शिवादले भरिएको छ — यो निदार ?
कति शिशिर काटेको छु
आमाको छातिलाइ दिवार बनाएर ?

मेरो आँखाको इतिहास खोतलेर भन
ए ! प्राचिन धडी
आमाले,
कति आंशु बगाइन् मेरो निम्ति
कति ओठ मुस्काइन मेरो निम्ति ?

मन नहदानहुदै पनि
सुन्ने शाहस बटुलेको छु
लु भन्
ए ! मेरो बाल्यकाल
कति खोसे मैले आमाको गास ?
र आमालाइ
कति रात सुताए भोकभोकै ?
कति दिन पठाए मेलामा आधापेट ?

कमसेकम त्यो जुनिमा
फिर्ता गर्न सकुँला यो वात्सल्य
जुन जुनिमा
हुन सकुँला आमाको आमा

समयको पिँध सम्म पुगेर
दृष्टिगोचर गर्ने मन छ
कैले शुरुवात भएको होला — यो श्रृंखला
आमा र सन्तानको श्रृंखला ।

दगातुन्डाँडा–७, खर्बाङ्ग, बाग्लुङ्ग
        फोन – ९८४९७८८३८९