गरिबका नाममा वर्षेनी सवा खर्ब

काठमाडौं वैशाख, २०–नेपालमा १२ लाख ७५ हजार घरपरिवारका ७० लाख जनता गरिबीको रेखामुनि रहेको भनेर सरकारले पहिचान गरेको छ । दिनमा १।९० डलर अर्थात् दुई सय एक रुपैयाँभन्दा कम आम्दानी हुने व्यक्तिलाई गरिबीको रेखामुनि मानिन्छ । महिनामा ६ हजार वा वर्षमा ७२ हजारभन्दा कम कमाउने नेपाली गरिब मानिन्छन् ।  गरिबी हटाउन सरकारका तर्फबाट ३५ अर्ब र गैरसरकारी संस्थामार्फत ७८ अर्ब ६६ करोड गरी वर्षमा एक खर्ब १३ अर्ब रुपैयााभन्दा बढी खर्च हुने गर्दछ। यो सबै रकम सीधै वितरण गर्ने हो भने प्रत्येक गरिबको भागमा १६ हजार एक सय ४२ रुपैयाँ ८५ पैसा पुग्छ । त्यस्तै हरेक गरिब परिवारको भागमा ८८ हजार ६ सय २७ रुपैयाँ ४५ पैसा पर्छ । सरकारको पैसा चुहावट हुने र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको बजेटको हिसाब नेपालमा भए पनि रकम उतै फर्कने भएकाले नेपालमा गरिब घटेका छैनन्, गरिबी झन् बढेको छ ।