हिजोको ऊ आजको ऊ -मुना धनन्जय (कविता)

हिजोको ऊ आजको ऊ



हिजो उसंग मन थियो
तर धन थिएन
आज उसंग धन छ
त्यसैले सायद मन छैन
हिजो देशमा थियो ऊ
त्यसैले राष्ट्रियता थियो उसमा
आज विदेशमा छ ऊ
त्यसैले विदेशीपन छ उसमा
हिजो आफ्नो माटो उपर
निकै गर्व गर्दथ्यो ऊ
तर आज केवल घृणा मात्र
सानो छदा भन्दथ्यो ऊ
ठूलो भएपछि मातृऋण तिर्ने छु
आमाको मुहारमा खुसी छर्ने छु
लाग्थ्यो उसलाई देख्दा
यही सच्चा सन्तान बन्ने छ
सबैका पिर व्यथा हर्ने छ
तर आज उसले गरेका बाचा
सबैका सबै भुलेको छ
विदेशी झिलिमिली रमझम
अनि धनकै मोहमा परेर
हिजोको ऊ आजको ऊ मा
धेरै भिन्नता छ
मानौ धर्ती र आकाश जत्तिकै
हिजो मन थियो र मनमा थियो माया पनि
आज धन छ पूरै उसको मन भित्र मात्र केवल
यसघडी उसलाई कसैको पनि
खाँचो छैन न त आवश्यकता कुनै
ऊ ठान्दो हो धनले सबै चिज किन्न सकिएला
विचार!उसलाई के थाहा
उसको धनभन्दा यहाँ लाखौँगुणा ठूलो त
मन हुन्छ भनेर।।