मनिषाको पोष्टमार्टम रिपोर्ट सार्बजनिक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषाको पोष्टमार्टमको रिपोर्ट पाँच दिनपछि मंगलबार मात्रै आएको छ । यद्यपि, घटनाको सत्य तथ्य खुल्न अब प्रहरीको जानकारी कुर्नु पर्ने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले खाम बन्दी गरी पठाएको रिपोर्ट वुधबार मात्रै खोलिने नवलपरासी प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी राजेन्द्रप्रसाद चौधरीले हाम्राकुरालाई बताए ।

उनले भने, ‘हाम्रो असई सावले रिपोर्ट पाउनु भएको छ, उहाँ साँझ हिड्नु हुन्छ, भोली मात्रै आइपुग्ने भएकाले खामबन्दी रिपोर्टबारे माथि सरहरुले जे भन्नु हुन्छ त्यही अनुसार सार्वजनिक गर्छौं ।’ सकभर पत्रकार सम्मेलन नै हुन्छ होला ।  एसपी चौधरीले थपे, ‘घटनाबारे सर्वत्र चासो छ , विमल जी सेलीब्रेटी भएकाले यसबारे चासो हुनु स्वभाविक हो । सर्वत्र चासोकै कारण समेत हामीले पत्रकार सम्मेलन गर्नुपर्ने हुन्छ ।’ वुधबार  तपाईहरुले जानकारी पाउनु हुन्छ ।

मनिषाको गत वुधबार राति बर्दघाट –८ स्थित आफ्नै घरमा रहस्यमय मृत्यु भएको थियो । हत्याको शंकामा शुक्रबार उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा पोष्टमार्टम भएको थियो । पोष्टमार्टमका मुख्य चिकित्सक राजधानी बाहिर रहेकाले रिपोर्ट आउन ढिलाई भएको बताइएको छ ।

मनीषाको मृत्युबारे चिकित्सकहरुले दिएको जानकारी अनुसार झुण्डिएका कारण मृत्यु भएको हो । यद्यपि, आफै झुण्डिएको वा अरु कसैले झुड्याएको भन्नेबारे प्रहरीको थप अनुसन्धानबाट खुल्ने छ । नवलपरासी प्रहरीको मुद्दा शाखा हेर्ने प्रहरी निरीक्षक प्रकाश सापकोटाले अनुसन्धान भइरहेको र मनिषासंगको सम्बन्धमा रहेका आशिष भनिने रुद्रनारायण चौधरीको पोलिग्राफ टेष्ट भएको जानकारी दिए । मनिषाको हत्या भएको भन्दै परासी सदरमुकाममा प्रदर्शन समेत भएको छ ।

यसअवस्थामा प्रहरीले अनुसन्धानका विभिन्न प्रक्रियाहरु अपनाएको निरीक्षक सापकोटाले बताए । उनले भने, ‘रुद्रको पोलिग्राफ सकिएको छ, रिपोर्ट आउन दुई तीन दिन लाग्छ ।’ उनको मंगलबार बिहान ८ देखि १ बजे सम्म ५ घण्टा  फोलिग्राफ टेष्ट भएको थियो । यसअघि, सोमबार रुद्रले टाउको दुख्यो भनेपछि पोलिग्राफ पूरा हुन सकेको थिएन । पोखराबाट आएको अनुसन्धान टोलीले पोलिग्राफ लिएको हो, दुई तीन दिनमा रिपोर्ट आउँछ, थप जानकारी आउँछ –उनले भने । मनिषाको शुक्रबार पोर्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्यष्टी भइसकेको छ ।  

,