भोलि अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने

काठमाडौँ जेठ, १४- सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ को बजेट शनिबार अपराह्न ४ बजे व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेटका सम्बन्धमा छलफल गर्दै निर्धारित समयमै बजेट ल्याउने निर्णय गरेको हो ।

बैठकले बजेटलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गरी आवश्यक तयारीका साथ बजेट प्रस्तुत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकमा खासगरी संविधान जारी भएपछिको सरकारले पहिलो नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरी पास भइसकेको छ, त्यसअनुरुप भोलि ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ, बजेटलाई कसरी व्यवस्थित र प्रभावकारीका साथ अन्तिमरुप दिने भन्नेबारे छलफल भयो ।” सञ्चारमन्त्री राईले भन्नुभयो ।

मन्त्रिपरिषद् बैठकले शनिबार मनाइने गणतन्त्र दिवसलाई भव्य रुपमा सम्पन्न गर्न दिवसका अवसरमा प्रदान गरिने विभिन्न पदक, विभूषणलगायतका कार्यलाई आन्तरिक तयारीका साथ अघि बढाउने विषयमा समेत छलफल गरेको छ । रासस