ड्राइभरलाई गोली हानी अपहरणकारीले उद्योगी केडियालाई भारत लगे

बारा, जेठ १४ – बाराको बरियापुरबाट अपहरणमा परेका सुरेश केडियालाई अपहरणकारीले भारत लगेको पुष्टि भएको छ। बरियापुरमा रहेको खाद्य उद्योगबाट बिहीबार बेलुकी बा १० च ७२४० नम्बरको कारमा घर फर्कने क्रममा बाराको पसाहा पुल नजिकबाट केडिया अपहरणमा पर्नुभएको हो । भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा आएका अपहरणकारीले केडियालाई अपहरण गरेका हुन् । उनीहरुले गाडी चालकलाई गोली हानेपछि केडियालाई आफ्नो गाडीमा राखेर बाराको नाका हुँदै भारततर्फ लिएर गएको नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नारायण सिंह खड्काले जानकारी दिनुभयो । सीमा नाका सिल गरेर खोजी सुरु गरिएको उहाँले बताउनुभयो । केडियाका गाडी चालक पर्सा विन्दवासिनी–२ का ३४ वर्षका उमेश साह कानुलाई गोली लागेको हो । दाहिने कन्चटमा गोली लागेर घाइते भएका कानुको वीरगन्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।