अमेरिकामा पनि ब्यस्त छन् यी निर्देशक


सतिश चापागाईं

उनी अमेरिका आएको आठ महिना भयो | यो अबधिमा ३४ वटा म्युजिक भिडियोहरु निर्देशन गरे | भेटिएका नेपालीहरुसंग गर्बका साथ भन्छन- "म्युजिक भिडियो बनाएरै पालिएको छु |"

हो ! यहाँ चर्चा गर्दैछु, उनै म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलको | सधै ब्यस्त र सधै मस्त भेटिन्छन पौडेल | अमेरिका ओर्लंदा नै हातमा काम लिएर आएका पौडेल दोस्रो दिनदेखि नै भिडियो सुटिंगको लोकेशन खोज्न ब्यस्त थिए | यो हप्ता पंक्तिकारले फोनमा सम्पर्क गर्दा उनी सुटिंग स्पट मै थिए र म्युजिक भिडियोको निर्देशन गर्दै थिए |

आएको अर्कोदिन उनले बाल्टिमोरमा गायक शिवराज जोशीको गीतको म्युजिक भिडियोको सुटिंग शुरु गरे | भुकम्पले थिलोथिलो भएको मातृभूमी नेपाल र नेपाली दाजुभाई दिदि बहिनीको पीडाको गीत थियो त्यो | त्यसपछि निर्देशक पौडेलको व्यस्तता उकालो लाग्यो | परिणाम: आठ महिनाको अवधिमा झन्डै तीन दर्जन म्युजिक भिडियोहरु बनाए र तीन दर्जन राज्यहरुमा पुगिसके |



शुरु शुरुमा कतिपयलाई उनको बारेमा थाहा थिएन, प्रोमोशन स्वरूप केहि स्वयंसेवी सहयोग गरे तर पछि भने आफ्नै 'लाइम लाईट युएसए एलएलसी' नामको कम्पनि खोलेर काम शुरु गरेका छन् | लाईम लाईट उनको बर्षौंको काम गर्ने थलो हो, जसलाई उनी बिर्सन सक्दैनन् | नेपालमा पनि उनको लाईम लाइट कम्पनि छ र त्यस मार्फत उनी काम गर्छन | नेपालको लाईम लाइट कम्पनि मार्फत प्रशन्नले झन्डै एक हजार म्युजिक भिडियो निर्माण गरिसकेका छन् | त्यसैले, उनले अमेरिका पनि सोहि नामको कम्पनी स्थापना गरेका छन् | भन्छन, "यो कम्पनीको नामबाट धेरै काम गरें | अमेरिकामा कम्पनि दर्ता गर्नु पर्ने भयो अनि यहि नाम राखें |"

यहिँ आएपछि उनले रामकृष्ण ढकालका तिन वटा म्युजिक भिडियोहरु निर्देशन गरे | तिनवटै प्रदर्शनको अन्तिम चरणमा छन् | ढकालको 'धारिलो रैछ माया' को पोस्टर अहिले मिडियामा प्रोमोशन कै क्रममा छ | बिन्ध्यबासिनी म्युजिक प्रा.ली. ले बजारमा ल्याउने यो गीतको शब्द आनन्द अधिकारीको र संगीत शिखर सन्तोषको छ | रामकृष्ण अमेरिका आएको बेलामा केहि सुटिंग भएको थियो | बाँकी सुटिंग नेपाल कै टिम मेम्बरबाट भएको पौडेल बताउछन  |

अमेरिकामा आएपछि सुटिंग गरेको निकी कार्कीको 'जेट उडाउछु घुईं घुईं' अहिले चर्चाको शिखरमा छ | छोटो समयमा यो भिडियो हेर्नेको संख्या एक मिलियन कटेको छ भने निकी र समिरको अर्को गीत 'दुनिया बेग्लै छ'को भिडियो हेर्नेको संख्या आधा मिलियन काटिसकेको भन्दै प्रशन्नले आफ्नो कामलाई दर्शकले मन पराएकोमा आफु प्रसन्न भएको बताउछन | 'दुनिया बेग्लै छ' भन्ने गीत अमेरिकाकी निकी र अष्ट्रेलियाका समिर आचार्यले गायका हुन् | यो गीत अमेरिकामा रेकर्ड गरिएको हो र समिर अमेरिकामा एउटा कार्यक्रममा सहभागी हुन आउदा भिडियो सुट गरिएको हो |



अमेरिका आएपछि उनले सत्यराज आचार्यको एउटा गीतको पनि भिडियो गरे | यो पनि अब रिलिज हुने क्रममा छ | सत्य र शान्ति गुरुङले अभिनय गरेको उक्त भिडियोको सुटिंग बाल्टिमोर र वाशिंगटन डि.सी. क्षेत्रमा गरिएको छ |

प्रसन्नले यसपटक गायक यम बराल र अन्जु पन्तको गीत 'पिरतीको गाउँ' को पनि म्युजिक भिडियो गर्ने अवसर पाए | सिर्जना प्रधान हैंजुको शब्द र राजेन्द्र हैंजुको संगीत रहेको यो गीतको सुटिंग न्यु योर्कमा भएको हो | यो भिडियो रिलिज भैसकेको छ | अमेरिकामा नै सुटिंग भएको 'मैना' अहिले बजारमा आईसकेको छ | त्यस्तै उदय सोतांगको 'तिमीमा एउटा नशा" पनि रिलिज भैसकेको छ |

प्रशन्नको निर्देशनमा अहिले बजारमा आएको र अमेरिकामा तहल्का नै मच्चाएको म्युजिक भिडियो हो 'जलायो निष्ठुरीको मायाले जलायो " | गायिका पविता परियारको स्वर र साहित्यकार गीता खत्रीको शब्दको यो गीतको म्युजिक भिडियो हेर्नेको संख्या युटुबमा दिनदिनै बढ्दो छ | यहि गीत रहेको गायिका परियारको 'दीप' एल्बमको  बिमोचन नेपालका ख्यातीप्राप्त तथा बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले न्यु योर्कमा गर्नु भएको थियो |



प्रशन्नका अर्जुन सुनामको नयाँ गीत आउन तम्तयार भएर बसेको छ | ढकाल ब्रदर्सका मनोज ढकालको 'घिन्तांग घिन्तांग'को भिडियो सबैभन्दा पहिले स्काईपमा निर्देशन गरेको  रिलिज भैसक्यो | अरु धरै म्युजिक भिडियोहरु मध्ये कतिको सुटिंग हुदैछ, कति एडिटिंगका क्रममा छन् भने केहि रिलिजका लागी ठिक्क छन् |

यो सबै काम अमेरिकामा एक्लै कसरी सम्भब छ? यो प्रश्नमा प्रसन्न भन्छन, "त्यहाँ सिंगो टिम छ, मैले यहाँबाट निर्देशन गर्दछु |" प्रशन्न अमेरिकामा बसेर नेपालमा पनि काम गर्न भ्याएका छन् | आफ्ना भिडियोका कतिपय कलाकारहरु र दृश्यहरु नेपालको हुने गरेको उनले बताए | उनले भने, "मेरो बर्षौंको अनुभबका कारण लोकेशन यहीबाट छान्न सक्छु र कलाकारहरु पनि | साथै मेरो राम्रो टिम छ नेपालमा जसले गर्दा कम गर्न सजिलो भएको छ |"

गीतको शब्द र भावलाइ केस्रा केस्रा केलाउन सिपालु प्रशन्नले त्यसको भावलाई आत्मसात गर्दै हरेक गीतको एउटा पूर्ण र सरल कथा बुन्छन | त्यही कथाका बारेमा आफ्ना टिमका सदस्यलाई आफुले बनाउन खोजेको भिडियोको प्लट बताउछन् | भिडियो खेल्ने कलाकारहरुलाई पनि उनले त्यसैगरि निर्देशन दिन्छन |  भन्छन, "मैले हरेक भिडियो बनाउनुपूर्व गीतको शब्द, संगीत र भावमा गहिरिएर डुबुल्की मार्छु | गीतको सिंगो पक्षलाई कसरी न्याय दिन सकिन्छ भन्नेमा अति सचेत हुन्छु | सायद त्यही कारण हुन सक्छ अहिले धेरै गायक गायिका र संगीतकर्मीको पहिलो रोजाईमा पर्न सफल भएको छु |"

उनले आफ्ना म्युजिक भिडियोको निर्देशन र सुटिंग अमेरिकाका बिभिन्न ठाउँहरुमा गर्दा यहि नयाँ प्रतिभा र पुराना कलाकारहरुसंग काम गरेका छन् |  "पुराना कलाकारहरुले खुशी हुनु भयो की बसेको ठाउँ मै सुटिंग गर्न पाईयो भनेर साथै अमेरिकामा रहेर अभिनय गर्न खोजेका तर अवसर र प्लेट फर्म नपाएका नयाँ कलाकारहरुलाई उनीहरुको प्रतिभाको प्रस्फुटन हुने अवसर मिलेको पनि छ |" प्रशन्नले भने |



अमेरिका आएको छोटो अबधिमा प्रशन्नको व्यस्तता हुनुका पछाडीको पहिलो कारण  उनको निर्देशन सिप नै हो | जुन सीपमा उनी पोख्त र निखर छन् | दोस्रो कारण उनको सामान्य जीवन शैली हो | अनुभवले खारिएका यी निर्देशक व्यवहारमा सार्है मिजासिला छन् | तेस्रो कारण यहाको नेपाली भाषी समुदायको माग पनि हो | फुर्सदमा र लहैलहैमा म्युजिक भिडियोहरु नबनेका होइनन तर ज्ञान, सिप र अनुभबले पोख्त अनि नेपाली भाषा र संस्कृतीलाइ न्याय गर्न सक्ने एउटा ब्यबसायीक निर्देशकको अभाव अमेरिकाको नेपाली समुदायमा थियो | त्यही अभावलाई पूर्णता दिएका छन् निर्देशक प्रशन्न पौडेलले |

फलस्वरूप, यहाको समुदायमा वर्तमान समयमा म्युजिक भिडियो बनाउन चाहने जो कोहीका लागी पनि पहिलो रोजाई बनेका छन् -निर्देशक प्रशन्न पौडेल |

, ,