यातायात व्यवसायीको बन्द : भाडाका गाडी नचल्दा यात्रुलाई समस्या

काठमाडौं, जेठ १३ – ट्राफिक जरिवाना रकम बढेको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाउँदा यात्रु मर्कामा परेका छन् । ट्राफिक प्रहरीले नियम विपरित गाडी चलाउनेलाई जेठ १ गतेदेखि कम्तिमा पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागु भएको छ । यातायात व्यवासयीले यसको विरोधमा बिहीबार देशभरी नै सार्वजनिक गाडी नचलाउँदा यात्रुलाई कष्ट भएको हो ।
व्यवसायीको बन्दका कारण काठामाडौं उपत्यकामा बिहानैदेखि भाडाका गाडी चलेका छैनन् । यस्तै काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने लामो दूरीका गाडीमा पनि बन्दको प्रभाव परेको ट्राफिक प्रहरीले जनाएको छ । सार्वजनिक भाडाका गाडी नचल्दा काठमाडौंका सडकमा गाडीको चाप कम छ । तर निजी गाडी भने चलेका छन् । यातायात व्यवसायीले बिहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म भाडाका गाडी नचलाउने बताएका छन् ।