प्रधानमन्त्री बन्न प्रचण्ड अग्रसर


काठमाडौं, वैशाख २२ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि पहल थाल्नुभएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले बुधबार विज्ञप्ति निकालेर अहिलेको सरकारले शान्ति प्रक्रिया, संविधान कार्यान्वयन तथा भूकम्पपछिको पुनर्निमाणसहितको कार्यभार पूरा गर्ने दिशामा काम गर्न नसकेकाले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन आग्रह गर्नुभएको हो ।
राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधान गर्न तथा संविधान कार्यान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा एमाले नेतृत्वको अहिलेको सरकार गठन गर्न पहल गरेकाे र सहभागी भएको विज्ञप्तीमा उल्लेख छ ।
तर यी विषयमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएपनि सरकारले त्यस दिशामा परिणाममुखी काम गर्न नसकेको एमाओवादीको आरोप छ ।
अब यी समस्या समधानका लागि  प्रतिपक्षी दल नेपाली कांग्रेससहित आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्नु पर्ने उल्लेख छ । यस्तै मधेसवादी दलललाई पनि समेटेर अघि बढ्नु पर्नेमा प्रचण्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।