नेपाल डे परेडको बिषयमा जनसम्पर्क समिति अमेरिका विभाजित - प्रकाश श्रेष्ठ



    देश वा प्रदेश जहाँ जस्तो अवस्थामा रहे पनि सबैको कुनै न कुनै तवरबाट राजनैतिक आस्था भैनै हाल्छ चाहे सकृयरुपमा होस् वा निस्कृयरुपमा समर्थन मात्रै किन नहोस् । तसर्थ अराजनितीक प्राणी भएर हामी जस्ता नेपालीहरु बाँच्नै सक्दैनौ किनकी हाम्रो रौ-रौ र नशा-नशामा राजनिती तरंगित भएकै हुन्छ । "आई हेट पोल्टिक्स","पोल्टिक्स ईज अ डर्टी गेम" भनेर कसैले भन्छ भने पनि उसमा केही न केही राजनितीले नछोईकन त्यसो भन्ने आँट गरेको हुँदैन अर्थात् उ राजनितीको बारेमा जानकार हुन्छ तर राजनितिज्ञहरुको व्यवहार देखेर असन्तुष्ट छ भन्ने अभिव्यक्ती मात्र हो । यसरी सामान्य तवरबाट हेर्ने हो भने पनि जो कोही नेपालीहरु कुनै न कुनै रुपमा राजनितीक एटाच्मेन्ट भएकै हुन्छन्, मात्र फरक व्यक्त वा अव्यक्तरुपमा मात्रै प्रस्तुत हुने हो । आजको प्रसंग प्रवासमा देखिने राजनिती सँग रहेको छ त्यसमा पनि नेपाली काँग्रेसको प्रवासमा रहेको भातृसंगठनको रुपमा रहेको " नेपाली जनसम्पर्क समिती अमेरिका" सँग सम्बन्धित रहेको छ ।

         जसरी नेपालमा नेपाली काँग्रेस पार्टी भित्र गुटवन्दीको राजनितीले काँग्रेसलाई तहसनहस बनाई रहेको छ त्यसै गरि विदेशमा समेत त्यसको भातृसंगठनहरुमा गुट, उपगुटको प्रभाव रहेको छ । त्यसको ज्वालन्त उदाहरण अमेरिकामा विगत देखि नै "नेपाली जनसम्पर्क समिती अमेरिका" मा देखिदै आएको विवाद र विवादले बाहिरीरुपमा देखिएको लज्जासपद व्यवहार हो । जनसम्पर्क समितीको मुल समिती देखि विभिन्न राज्यका च्याप्टर  समितीहरुमा समेत आपसमा मतमतान्तरहरु बाहिरी रुपमानै छताछुल्ल हुनु, आपसमा पानी बारबारको स्थिती देखिनु अत्यान्त अशोभनिय देखिएको जो कोहीले महशुष गर्न सक्छ ।

       पुरानै विवादहरुलाई साम्य पार्ने उद्देश्यका साथ सम्पन्न अधिवेशनबाट निर्वाचित भएको आनन्द विस्टको नेतृत्वको समितीले पनि सबैलाई मिलाएर लैजानुको सट्टा नेपालका आफु निकटका नेताहरुलाई खुशी पार्ने काममै यतिका समय व्यतित गरेको देखिन्छ । अहिलेसम्म एकदमै तारिफ गर्नु पर्ने उल्लेखनिय काम गरेको केही पाईएन बरु नेपालबाट नेताहरु आउँदा खाँदाको भारीनै बोकेर एरपोर्टमा जाने, कोठे अन्तरकृया गर्ने, विभिन्न ठाउँहरुमा घुमाएर जाने बेलामा खुशी पार्न विभिन्न उपहार साथमा दिएर पठाउने काम बढि देखियो । अझै काँगेसको केन्द्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधीहरु छान्दा समेत महाभारत देखाईयो त्यस्तै समितीको अध्यक्षले समितीका केही पदाधिकारी र सदस्यहरुलाई निलम्बन गर्ने र समितीका केही पदाधिकारी र सदस्यहरु मिलेर अध्यक्ष र केही पदाधिकारी र सदस्यहरुलाईनै निलम्बन गर्ने क्रम पनि चल्यो ।

      त्यसपछि केही समय पहिला महामन्त्री डा. सशांक कोईराला आएर टुटफुट नभएको एकजुट भएको घोषणा गरिदिए र केही समय मिले जस्तो पनि गरे तर फुटेको घैटोलाई टालटुल पारेको लेपन लामो समय टिक्न सकेन पुन: घैटो फुटेर पानी छताछुल्ल हुन थाल्यो जसको फलस्वरूप सतहमै त्यसको परिणाम देखिन थाल्यो । जसको पछिल्लो घटना यही आउँदो MAY 22 तारिकका दिन न्युयोर्कको म्यानहाटनमा आयोजन हुँदै गरेको "नेपाल डे परेड" मा "जनसम्पर्क समिती अमेरिका "आयोजकको रुपमा सहभागित जनाउने सन्दर्भमा अध्यक्ष आनन्द विष्ट र वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह के.सी. विचमा मतएक्यता देखिएन ।

         अध्यक्षले नेपाल डे परेडलाई भव्यताका साथ सहभागी हुन सबैलाई आव्हान गरिरहेको अवस्थामा अर्को तर्फ वरिष्ठ उपाध्यक्ष के.सी. ले भने उक्त कार्यक्रममा आधिकारिक रुपमा सहभागी हुने कुनै निर्णय समितीमा नभएकोले जनसम्पर्क समितीले संस्थागतरुपमा नेपाली काँग्रस केन्द्रिय समितीको अधिकारिक निर्देशन नभएसम्म सहभागिता नजनाउने भन्दै विज्ञप्ति समेत जारी गरेका छन् । नेपाल परेड डे मा के कति कारणले सहभागी हुन नहुने हो र कसरी माउ पार्टी काँग्रेसको छवीमा धुमिल पार्ने हो त्यसबारे स्पस्ट पारिएको भने छैन अर्को तर्फ अध्यक्षबाट जारी विज्ञप्तिमा नेपाली भेषभुषा, कला, संस्कृतीको प्रवर्धन गरि विश्वसमुदाय समक्ष नेपाललाई चिनाउने पवित्र उद्देश्य प्राप्तीका लागी आयोजना गरिएको नेपाल परेड डे मा सबै नेपालीहरुको सहभागिताको लागी अनुरोध गरेको आफुहरु आयोजकहरु मध्येको महत्वपुर्ण हिस्सा रहेको समेत व्यक्त गरिरहेका छन् ।

      यसरी एउटा जिम्मेवार पोस्टमा बसेकोले आधिकारिकरुपमा सहभागी हुने भन्छ, अर्को जिम्मेवार पोस्टमै बसेकोले आधिकारिकरुपमा सहभागी नहुने भन्छ । यसकिसिमको विवादास्पद कुराहरु मिडियामा समेत आएकोले यसमा सर्वसाधारणहरु अन्यौल र आश्चर्यचकित बनिरहेका छन् । तसर्थ यो रमिते बनेर दुनियाँ गोत्र हसाउँने काम नगरि सबैको चासो र सबैको हितको लागी भनि आयोजना गरिएको " नेपाल डे परेड " मा सहभागिता जनाउ । यसमा कुनै राजनैतिक नाफा घाटाले नहेरौ, कसले पहिला यो "नेपाल डे परेड" को अवधारणा ल्याएर कार्यक्रम गर्ने सोच बन्यो र कार्यक्रम तय गरियो भन्ने कुरा गौण कुरा हो, मुख्य कुरा नेपाली समुदायको हित हुने कार्यक्रम हो भने सबैको सहभागिता हुनु जरुरी हुन्छ ।

        यसलाई राजनितीक फाईदाको लागी कुनै पार्टी विशेषको भातृसंगठनले प्रयोग गरेर क्रेडिट लिन खोज्छ भने त्यो कार्य पनि क्षम्य हुन सक्दैन । तसर्थ सबैको सहकार्यमा हुन थालेको कार्यक्रमको क्रेडिट सबैलाई नै जाने हुन्छ यसमा कुनै किसिमको भ्रमहरु नछरिकन सबै सहभागी हुन हरतरहले लागी पर्नु जरुरी देखिन्छ । नेपाल र नेपालीलाई चिनाउने यस्ता महत्वपुर्ण कामहरुमा राजनितीक जोड घटाउ र फाईदा घाटाको कुराहरु अघि सार्ने काम आगामी दिनहरुमा समेत कहि कतैबाट नहोस् ।

      अत: नेपाली जनसम्पर्क अमेरिकालाई सबैको साझा संस्थाको रुपमा विकास गरौ र आपसमा गुटवन्दीको घेरा भन्दा बाहिर राखेर नेपाली समुदायको हितमा समर्पित भएर अगाडी बढौ, यसैमा सबैको हित हुनेछ ।

        बाल्टिमोर, अमेरिका

हेरौं जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष र उपाध्यक्षको बिज्ञप्ती 

नेपाल डे परेडमा सहभागिताका लागि हार्दिक अनुरोध !

आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

नेपालको कला,संस्कृति प्रवर्द्धन गर्ने र विश्व समुदाय समक्ष नेपाल चिनाउने पवित्र उद्देश्यसहित यही मे २२ तारिख आइतवार न्यूयोर्कको म्यानहाटनमा पहिलोपटक नेपाल डे परेड आयोजना गर्न लागिएको अवगत नै छ |  यो परेड आयोजनाका लागि नेपाली जनसम्पर्क समिति,अमेरिका शुरुदेखि नै प्रत्यक्ष रुपमा संलग्न रही आएको छ |
सबै संघ,संस्थाको सामूहिक सहभागिताले मात्रै यो परेडलाई भव्यतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने यथार्थ मनन गर्दै हामी सबैसँग सहकार्य गरी न्यूयोर्कमा तीस भन्दा बढी संस्थाहरुको सहभागितामा नेपाल डे परेड आयोजना गर्दैछौं | यो सबैको साझा कार्यक्रम र नेपाली गौरवको अभियान हो |
विदेशी भूमिमा नेपालको प्रवर्द्धन,नेपाली भेषभुषा,कला,संस्कृति र पहिचान प्रदर्शन गर्ने पवित्र उद्देश्यमा कसैको पनि दुईमत हुँदैन | यो परेडलाई भव्य,सभ्य र व्यवस्थित बनाउन प्रमूख आयोजक मध्येको एक संस्थाको तर्फबाट हामी सबै सम्पूर्ण प्रयासमा जुटेका छौं | हिजो मे १९ तारिखका दिन हामी न्यूयोर्कमा उपलब्ध समितिका केन्द्रीय पदाधिकारी र सदस्यहरु, न्यूयोर्क,लंग आइल्याण्ड र न्यूजर्सी च्याप्टरका सभापति एवं पदाधिकारी र सदस्यहरु प्रत्यक्ष भेटघाट र छलफल गरेर यो परेडलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने गरी छलफल गरेका छौं | हाम्रो मात्र प्रयास पर्याप्त हुँदैन भन्नेमा हामी प्रष्ट छौं |
तसर्थ नेपाली जनसम्पर्क समिति,अमेरिका आफ्ना सबै च्याप्टर,सदस्य र शुभेच्छुकसहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई आइतवार हुने नेपाल डे परेडमा सक्रिय सहभागिताका लागि अनुरोध गर्दछ | भौगोलिक हिसाबले प्रत्यक्ष सहभागी हुन नसक्ने टाढा टाढाका साथीहरुले आ आफ्नो तर्फबाट यो परेडका बारे प्रचार प्रसार गरिदिनु हुन समेत यसै अपीलमार्फत अनुरोध गर्दछु |
आउनुस्, नेपाल र नेपाली पहिचानका लागि एकताबद्ध भएर परेडमा जुटौं |
हाम्रो नेपाल,हाम्रो गौरव, हाम्रो धरोहरको प्रवर्द्धन,हाम्रो प्रयास |
जय नेपाल |

आनन्द विष्ट 
सभापति एवं नेपाली जनसम्पर्क समिति,अमेरिका 
परिवार


यो धनञ्जयनरसिंह के. सी. को विज्ञप्ति -
२० मे, २०१६,  क्यालिफोर्निया । 
आदरणीय साथिहरू,
जय नेपाल !
राष्ट्र र राष्ट्रियता गाँसिएको "नेपाल परेड डे"संग  हाम्रो मातृ पार्टी नेपाली काँग्रेसको पनि छवि जोडिएको छ ।
त्यसैले यस बारेमा खेलेको संगठनको भुनिकाले काँग्रेसको छविमा प्रत्यक्ष असर पार्ने भएका कारण यस प्रति हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ । यस्तो गम्भिर बिषय माथि नेतृत्वले कार्यसमिति र आफन्त माँझ सामान्य छलफल  नै नगरी पराईको ईन्जार बाँध्न पुग्नाले सिंगो संगठन र काँग्रेसको छविमा आँच पुर्याएको छ । जसका कारण केहि दिन अघि मात्र  संगठन विवादित बनेको कुरा सबैलाई जगजाहेर छ । यि कुरालाई वेवास्ता गर्दै, काँचो र फितलो प्रस्तुतिका कारण किनारामा पुगेको नेतृत्वले  पराई माँझ संगठन कमजोर भएको सावित गराउँदै, संगठनलाई पुन: विवाद तिर धकेलेकोले खबरदारी गर्न बाध्य भएको कुरा यहाँहरू माझ राख्न चाँहन्छौ ।

आदरणीय साथिहरू "नेपाल परेड डे "मा भाग लिने सम्बन्धमा कार्यसमितिले कुनै आधिकारिक निर्णय गरेको छैन । यस बारेमा नेपाली डास्फोरा बिभाजित बनि विविध किसिमका यावद प्रश्नहरू उठाएका छन् । भोली हाम्रो संगठन र काँग्रेसले त्यस्तो जवाफ दिनुपर्ने हुन्छ । यो संग काँग्रेसको छवि गाँसिएको छ । त्यसैले "नेपाल परेड डे" को बारेमा नेपाली काँग्रेस केन्द्रीय कार्यालय बाट आधिकारिक निर्देशन नआउँदा सम्म र कार्यसमितिमा भाग लिने बारेमा आधिकारीक निर्णय नभएका कारण नेपाली जनसंपर्क समिति अमेरिकाले "नेपाल परेड डे" मा संस्थागत रूपमा सहभागिता नहुने कुराको पनि यसै सुचना मार्फत सबैलाई अनुरोधका साथ जानकारीका गराउँदछौ ।