फेरि मिसाइल परीक्षण गर्ने उत्तर कोरियाको तयारी, जापान सतर्क

एजेन्सी जेठ, १८ – उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गर्न लागेको भन्दै जापानले आफ्ना सेनालाई सतर्क अवस्थामा राखेको छ । दक्षिण कोरियाले पनि उत्तर कोरियाले मिसाइल परीक्षणको तयारी गरेको सूचना पाएको जनाएको छ । जापानले जल सैनिकलाई उत्तर कोरियाले आफ्नो देशतर्फ लक्षित गरी मिसाइल प्रक्षेपण गरे त्यसलाई ध्वस्त पार्न निर्देशन दिएको छ । त्यसका लागि एन्टी ब्यालेस्टिक मिसाइलको ब्याट्री तयारी अवस्थमा राख्न निर्देशन दिएको जापानको सरकारी समाचार संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । एन्टी ब्यालेस्टिक मिसाइलको ब्याट्री तयारी अवस्थामा राखिएको जापानको रक्षा मन्त्रालयका अधिकारीले बताएका छन् । उत्तर कोरियाले कस्तो खालको मिसाइल परीक्षण गर्न लागेको हो भन्ने बारे दक्षिण कोरियाले केही बताएको छैन । तर त्यहाँको सरकारी समाचार संस्था योनहाफले भने उत्तर कोरियाले मध्यमदूरीको मिसाइल परीक्षणको तयारी गरेको जनाएको छ । उत्तर कोरियाले गएको जनवरीमा चौथो परमाणु परीक्षण गरेपछि कोरिया प्रायद्धिपमा तनाव थप बढेको छ । त्यसपछि उत्तर कोरियाले स्याटेलाइट तथा विभिन्न समयमा मिसाइल परीक्षण गर्दै आएको छ । अमेरिका, जापान, दक्षिण कोरियासहितका देशले उत्तरको पछिल्लो कदमको विरोध गर्दै आएका छन् । उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा भएको छ । तर उत्तर कोरियाले भने मिसाइल परीक्षण गर्ने क्रम रोकेको छैन ।