धार्मिक कार्यक्रम समाज सेवामुलक हुन सके उपयोगी - प्रकाश श्रेष्ठ


       शुरुमै यो कुरा स्पस्ट पारौ की यो आलेख कुनै धर्मलाई पृष्ठपोषण गर्न लेखिएको कदापी हैन र यो स्तम्भकार कुनै धर्मको अन्धभक्त पनि हुँदै होईन । प्रत्येक धर्मका निश्चित मुल्य मान्यता, विश्वास, धारणा, आस्था, भरोसा, पृष्ठभूमि हुन्छन् । सबै धर्म एकै बाबुआमाका फरक सन्तान मात्र हुन् र बाटो अलग भएपनि अन्तिम गन्तव्य एकै हो मानव परोपकार । आजको प्रसंग वास्तवमा धर्मसँग जोडिएको मानव पुड्यमा आधारित सामाजिक सेवा सम्बन्धी कुराहरुमा केन्द्रित छ ।
      तपाई हामीलाई थाहाँ भएको कुरा हो करिव १५-२० बर्ष पहिला एक ताका सार्वजनिक स्कुलहरु, कलेजहरु संचालन गर्न आर्थिक समस्या पर्यो भने धार्मिक कार्यक्रमको आयोजना गरेर आर्थिक सहयोग जुटाउने कार्यहरु हुने गरेको थियो । यद्दपी आजकल समेत यस्ता गतिविधी भईनै रहेका छन् तापनि त्यतिवेला एक किसिमको ठुलै लहर वा लोकप्रियता चलेको थियो । यस अर्थमा पनि त्यतीवेला लहर भन्नु पर्छ की त्यतीवेला नेपालमा हिंसात्मक द्वन्द देशका हरेक गाउँबस्तीमा अनियन्त्रितरुपमा चर्केको थियो र त्यस्तो समयमा समेत जोखिम मोलेर त्यस्ता धार्मिक गतिविधी आयोजना गर्ने आयोजक र ती कार्यक्रममा सहभागी हुने धार्मिक अभियान्ताहरुको अदम्य साहसलाई कम आंकलन गर्नु हुँदैन ।
       त्यतिवेला चर्चाको शिखरमा थिए वाचनशिरोमणी नारायण प्रसाद पोखरेल जसले नेपालभरि त्यस्ता थुप्रै धार्मिक प्रवचनयुक्त धनधान्याञ्चल महायज्ञमा सरिक भएर थुप्रै आर्थिक रकम जुटाईदिने काममा मध्यस्थताको भुमिका निर्वाह गरेका थिए । त्यतीवेला उनलाई सहभागी बनाएको धार्मिक कार्यक्रममा राम्रोसँगनै जनसहभागिता भएर दानदक्षिणा वापत आर्थिक रकम, जग्गा एवं जिन्सी सामाग्री संकलन हुने गर्दथ्यो । अधिकांश सामुदायिक स्कुलहरुले यस्ता कार्यक्रमहरु संचालन गरेर मा.वि. स्कुलहरुलाई उच्च मा.वि. र कलेजहरुको स्तरोन्नती गर्ने त्यस्तै अस्पताल, सडक, पुलहरु निर्माण गर्ने लगायत धेरै किसिमका सार्वजनिक सेवाका कार्यहरु गर्नका लागी त्यस्ता धनधान्याञ्चल कार्यक्रमहरु संचालन हुने गरेको पाईन्थ्यो ।
        त्यस्ता महान कार्यलाई धार्मिक कार्यक्रम मार्फत आर्थिक सहयोग जुटाएर काम गर्न चाहनेहरुले कथमकदाचित नारायण प्र. पोखरेलबाट त्यस्ता धार्मिक कार्यक्रममा सभागिता हुन नसक्ने देखिएमा अरु नाम चलेका धार्मिक वाचनकर्ताहरुलाई समेत आमन्त्रण गरेर त्यस्ता कार्यक्रम संचालन गरेको पनि देखिन्थ्यो । जे होस् त्यतीवेला चर्चाको शिखरमा नारायण पोखरेलनै थिए र उनको वाचनमा यस्तो शक्ती थियो की भक्तजनहरु मन्त्रमुग्ध भएर आफ्नो औकातले नभ्याउँदा समेत चल, अचल सम्पत्ती बेचबिखन गरेर र कतिपय जग्गाजमिन जस्ता अचल सम्पत्तीनै दिएर पनि आर्थिक सहयोग गर्ने गरेको पनि देखिन्थ्यो ।

        यसरी नै यो स्तम्भकारको गाउँ नारायणस्थान बलेवा बाग्लुङमा २०६१ साल बैशाकमा आयोजित धनधान्याञ्चल महायज्ञमा पनि उल्लेखनिय गाउँलेहरुको सहभागिता भएर उच्च मा.वि. संचालनार्थ  भवन एवं भौतिक निर्माणको लागी भनि संचालन गरिएको उक्त महान काममा आशा गरिए भन्दा निकै बढी आर्थिक रकम संकलन भएको थियो र त्यसको प्रत्यक्षदर्शी भएर काम गर्दाको अनुभवले पनि धेरै कुरा सिक्ने मौका मिल्यो ।

         त्यतीवेला गाउँमा एक किसिमको ठुलो पर्व आए जस्तो भयो र आफुले सक्ने सहयोग चल, अचल धनहरु दिएर सबैले सहयोग गरे । त्यो कार्यक्रम संचालन गरि सफल तुल्याउन रातदिन अहोरात्र खटिएर गाउँलेहरुले देखाएको पराक्रमको बारे बयान गरे साध्य छैन । त्यसै फलस्वरूपनै सुविधासम्पन विद्यालय भवन बनाउन वास्तवमा हाम्रो गाउँमा सफलता मिलेको पनि थियो । त्यस्तै त्यतीनै वेला पोखरामा सामुदायिक अस्पताल लेखनाथ नगरपालिकामा संचालन गर्न आयोजित धनधान्याञ्चल महायज्ञमा पनि उल्लेखनिय आर्थिक संकलन भएको थियो र त्यतिवेला एक दम्पतीले आफुसँग भएको सम्पुर्ण सम्पतीनै(जग्गा) अस्पतालको नाममा दिएको घटना पनि त्यतिवेलाको चर्चाको विषय बनेको थियो ।

           त्यतिवेला जति पनि यस्ता धार्मिक कार्यक्रमबाट सामाजिक क्षेत्रमा काम गर्न समुदायबाट सहयोग उठाउन खोजियो त्यो काम निकैनै अनुकरणीय थियो । निश्चित तोकिएको रकम दिनेलाई सभानायक बनाउने, दलित भनिने व्यक्ती र वर्गलाई मंचमा अतिथी बनाएर धार्मिक कार्यक्रम संचालन गर्ने जस्ता काम पनि भएका थिए ।  हिन्दुधर्मको अपव्यख्या गरि जुन छुवाछुतको विभेद थियो त्यसलाई चिरेर सबै मानव समुदाय समान हुन भन्ने संदेश समेत उनले दिन खोजेका थिए र धर्मलाई ढोगी संस्कारको रुपमा नभएर समाज रुपान्तरणको काममा समेत लगाउनु पर्छ भन्ने उनको मान्यता थियो ।

             सामाजिक विकासमा राज्यको मात्र भर नपरेर जनस्तरबाटै जागरण ल्याउनु पर्छ भन्ने उनको मुख्य अभियान र प्रयास भएको प्रस्टै उनका प्रवचनबाट अनुभुत गर्न सकिन्थ्यो परन्तु उनले चाहेर वा नचाहेर पनि उनी सहभागी भएको कार्यक्रममा धेरै आर्थिक संकलन हुन सकोस् भनेर त्यसै किसिमको उत्प्रेरणा जगाएर र आपसमा प्रतिस्पर्धा गराएर बढी आर्थिक रकम दान गर्न सहभागीहरु/दानीहरुलाई अभिप्रेरित गर्दथे । त्यतिवेला कतिपय अवस्थामा विवादास्पद प्रतिस्पर्धा समेत गराएको देखिएको पनि थियो त्यसको ज्वालन्त उदाहरणमा दशकौ देखि चलिआएका स्कुलहरुमा एउटा निश्चित तोकिएको सबै भन्दा बढि रकम दिनेको नाममा स्कुलको नाम जोडिने वा उसकै नाममा स्कुलको नाम नामाकरण गरिने जस्ता मानसम्मानका प्रावधान राख्न लगाएर आर्थिक रकम संकलन गरिने प्रयास पनि भए र जसका कारण धेरै ठाउँहरुमा विवादहरु पनि निम्तिेएका थिए ।

           वास्तवमा यस विषयमा भने उनको दूरदृष्टी नपुगेकै देखियो किनकी स्कुल र कुनै सामाजिक संस्थाहरुको नाम पैसामा विक्री हुनु त्यती सान्दर्भिक एवं न्यायसंगत हुनै सक्दैन । समाजसेवा जस्तो कार्यलाई नितान्त पैसामा विकाउ गर्ने प्रवृती पनि गलतनै हुन जान्छ । तापनि उनले जुनकिसिमको धार्मिक कार्यलाई समाजसेवामा लगाउने प्रायसमा अभियान थाले त्यसले मुर्ति र ढुंगा पुजा गरेर आत्मरती शान्त पार्नेहरुको लागी भने यस्तो कार्यको थालनीले कम्तीमा धर्मकै नाममा दुईचार पैसा चढाउने, दानदक्षिणा दिने संस्कारको विकास भयो जसले गर्दा पनि ग्रामिण तहमा शिक्षा, स्वास्थ्य, बाटोघाटो, पुलपुलेसोहरु निर्माणमा केही न केही राहत पुग्न गएको थियो ।
         
कतिपय सामाजिक कामको लागी यत्तिकै सहयोग उठाउन ठुलो चुनौती देखिने अवस्थामा यस्तो खाले माध्यमबाट पनि सहयोग उठेर साना-तिना काम अझै कतिपय जनसरोकारका अति महत्वपुर्ण काम बन्नु निकै सराहनीय कामनै ठान्नु पर्छ । दुर्भाग्य भन्नु पर्छ २०६१ सालको अन्तिम तिर उनको अप्रत्याशितरुपमा हत्या भयो । के, कति, कसरी उनको हत्या भयो त्यो चर्चाकै विषय बन्यो र त्यस्को लगत्तै उनका छोरा दीनबन्धु पोखरेल समेतबाट समेत आफ्ना पिताले अंगालेको बाटो तर्फ हिड्ने प्रयास गरे । उनले यस किसिमको धार्मिक गतिविधीबाट निकै चर्चा बटुले तथापी उनको पितामा रहेको जुन चमक र लोकप्रियता थियो त्यो भने पक्कै पनि देखिन सकेको छैन ।
       
आजकल यस किसिमको सामाजिक सेवा उन्मुख धार्मिक गतिविधी चल्नु साँच्चिकै राम्रो पक्ष हो तापनि धर्मलाई मानवहरु वीच विखण्डन ल्याउने काममा कतै कतै प्रयोग भएको सुन्नमा पनि समय-समयमा चर्चा हुनु दुखद पक्ष हो । धर्म कुनै अमुक भगवान, प्रभु, अल्लाले बनाएको हैन यो त प्राचीन समयमा नैतिकवान, चरित्रवान समाज निर्माणको लागी बनाएको तत्कालिन आवस्यकता अनुसारको एक किसिमको सामाजिक कानुन हो र त्यो के कति उचित-अनुचित आजको आधुनिक समाजमा छ त्यस्को विश्लेषण गर्दै समयसापेक्ष परिवर्तन र परिमार्जित गर्दै मानवहितको लागी उपयोग हुनु पर्छ र सबैले सबैको धर्म, संस्कार, संस्कृतीलाई सम्मान र ईज्जत गर्नु पर्दछ यसैमा सबै जगतको भलो हुन्छ ।
        बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका