राजधानी नछोडन एमाले सांसदलाई निर्देशन

काठमाडौं वैशाख, २१- सरकारको नेतृत्व गरेको  दल नेकपा एमालेले संसद जेठ १ गतेसम्म राजधानी नछोड्न निर्देशन दिएको छ। मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी ओलीले जेठ एक गतेसम्म आफ्ना सांसदलाई राजधानी नछोड्न निर्देशन दिएका हुन्।
एमालेले संसदमा २६ गते सरकारले पेश गर्ने नीति तथा कार्यक्रम पारित नभएसम्म आफ्ना सांसदलाई विदेश भ्रमण तथा जिल्ला जानसमेत रोक लगाएको हो। नीति तथा कार्यक्रम वैशाख ३१ गते पारित गर्ने कार्यसूचि छ। बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई अनावश्यक दुःख दिन सुरु गरेको निष्कर्ष निकाल्दै संसदमा त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय भएको एक सांसदले बताए। बैठकले कांग्रेसले सरकारको चर्को आलोचना गर्ने निष्कर्ष निकाल्दै त्यसको सशक्त तर मर्यादित ढंगले प्रतिवाद गर्ने निर्णय गरेको छ। सरकारले नियुक्ती गर्ने राजदूत र न्यायपरिषदले सिफारिस गरेको न्यायाधीशमा पनि कांग्रेसले राजनीति गर्नु खोज्नु लोकतन्त्रको परिभाषा भित्र नपर्ने भन्दै बैठकमा कांग्रेसको चर्को आलोचना भएको थियो।