को हुन् तालिबानका नयाँ नेता ?

एजेन्सी जेठ, १३-अफगानिस्तान तालिबानले आफ्नो नयाँ नेतामा मौलवी हिब्तुल्लाह अखुम्जादालाई नियुक्त गरेको छ । तालिबानले नेता अमिर मुल्ला मुख्तर मन्सुरको अमेरिकी ड्रोन आक्रमणमा ज्यान गएको पुष्टी गर्दै उनका सहयोगी अखुम्जादालाई प्रमुखमा नियुक्त गरेको घोषणा गरेको हो ।
नेता मन्सुरको पाकिस्तानको बलुचिस्तान प्रान्तको सीमा नजिक रहेको कन्धारको मरुभूमिमा ज्यान गएको अफगानिस्तानले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ । मुल्ला अख्तर मन्सुरको ठाउँ लिएका मौलवी हिब्तुल्लाह हक्कानी नेटवर्कसँग पनि सम्बद्ध छन् । हिब्तुल्लाह तालिबान तहरिक सुरु भएको धेरै पछि मात्रै यसमा सहभागी भएका थिए ।
हिब्तुल्लाह सन् १९९४ मा कन्धारमा सुरु भएको अफगान तालिबान तहरिकको १३ सदस्यीय समितिमा थिएनन् । हिब्तुल्लाह एक धार्मिक नेता हुन् । तालिबान अहिले विभिन्न भागमा विभाजन भएकाले सबैलाई एक बनाउने उद्देश्यले धार्मिक नेतालाई तालिबानले प्रमुख बनाएको जानकारहरु बताउँछन् । झण्डै ५० वर्षका हिब्तुल्लाहले कन्धारमा मदरसा चलाउने गरेका थिए ।