बिमल कतार एयरबाट साढे ९ बजे नेपाल फर्कँदै

काठमाडौं, जेठ १४ – उपचारका क्रममा बेल्जियममा रहेका राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर आज शुक्रबार बिहान नेपाल फर्कँदै छन् ।

बहिनी मनिषाको ज्यान गएको खबर पाएपछि बिमल घर फर्कन लागेको एन्फाले जनाएको छ । विमल बिहान साढे ९ बजे कतार एयरबाट नेपाल फर्कने एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

 बायाँ खुट्टाको लिगामेन्टको उपचारका लागि बिमल गएको वैशाख २९ गते बेल्जियम गएका थिए ।

बिहीबार नवलपरासी बर्दघाट-८ पञ्चनगरमा रहेको आफ्नै घरमा मनिषा मृत अवस्थामा भेटिएकी थिइन । बुधबार घरमा एक्लै रहेकी उनी बिहीबार बिहान मृत अवस्थामा भेटिएकी थिइन ।

हत्या भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मनिषाको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

,