गगन थापाले भने - मेरो बारेमा अनर्गल प्रचार भयो


मंगलवार म संसदमा थिए । शुभचिन्तक मित्रहरूको थुप्रै फोन र म्यासेज आएपछि थाहा पाँए मेरो नाम जोडेर एक अनलाईनमा प्रकाशित 'भारतको विरुद्धमा उत्रने नेपाली भेडा हुन् - गगन थापा'। शिर्षकको समाचार सामाजिक संजालमा व्यापक रुपमा  फैलिएको रहेछ । त्यस दिन म कुनै सार्वजनिक कार्यक्रममा बोलेको त थिईन नै जुन शिर्षकमा समाचार आयो त्यो मैले बोल्न त के सोच्न समेत नसकिने विषय थियो । म प्रष्ट छु-मेरा सकारात्मक प्रयासलाई ओझेल पार्ने नियतका साथ मेरो राजनीतिक सोंच र मूल्य विपरित उक्त समाचार प्रकाशित भएको थियो । त्यसै पनि यस्ता कपोलकल्पित समाचारहरू मेरा निम्ति नयाँ होइनन । विगतमा कयौंपटक यस्ता झुट्टा विषय उठाएर मेरो चरित्र हत्या गर्ने प्रयास भएका छन् । यस्ता अनर्गल प्रचारवाट म बिचलित भएको छैन बरु थप सतर्क छु । यस्ता समाचारका बारेमा म खासै चासो राख्ने गर्दिन र राख्ने फुर्सद पनि छैन । तर  जव शुभचिन्त्तक मित्रहरुले फोन र मेसेज र सामाजिक संजालमा अनेकन प्रतिक्रया मार्फत चिन्ता व्यक्त गर्नुभयो यसपटक मैले प्रकाशकलाई फोन गरेर सोधें; “तपाईले के आधारमा गगनले यस्तो भनेको भनेर लेख्नुभयो? समाचार टिपाउने तपाईको समाचारदाता हो वा कुनै विश्वसनीय स्रोत?” उनले यो समाचार कसैले फोनबाट टिपाएर आफूले प्रकाशन गरेको तर अनुसन्धान गर्दा त्यस दिन काठमाडौंमा त्यस्तो कुनै पनि सार्वजनिक कार्यक्रममा तपाई नबोलेकोले त्यो समाचार गलत रहेछ । गलत प्रचार हुन गएकोमा माफि माग्छौ । त्यसपश्चात उक्त अनलाईनले भूल सुधार गरेर खण्डन छाप्यो -गगन थापा विरुद्धको अनर्गल प्रचार भएकोमा दु:ख व्यक्त गर्दछौं ।

यसरी हुँदै नभएको कार्यक्रम कल्पना गर्ने, त्यो कार्यक्रममा बोल्यो भनेर कथा बनाउने,त्यसलाई कुनै अनलाईनले समाचार वनाउने अनि अरु अनलाईनहरूले त्यसको साभार गर्ने तर यसको सत्यताका वारेमा खोजि गर्न कसैले आवश्यक नठान्ने र जवाफदेहीता पनि कसैको नहुने । गल्ति उनीहरू गर्ने जनतामा जवाफ हामीले दिनुपर्ने । के यस्तो पनि हुन्छ? यस्तो स्वच्छन्दतावाट हामीले कस्तो समाज वनाउदै छौं ?

म सधैं प्रेस स्वतन्त्रताको विषयमा प्रतिवद्ध रहदै आएको छु र लड्दै पनि आएको छु तर यस्तो किसिमको छाडा प्रवृत्ति स्वतन्त्रता होईन अराजकता हो । के हामीले लडेर स्थापित गरेको प्रेस स्वतन्त्रता यही हो ? प्रेसको कुनै नैतिक जिम्मेवारी छैन? यसले लेख्ने र छाप्ने कुराको कुनै आधार हुनुपर्दैन? विना आधार कसैको चरित्रहत्या गर्न पाईन्छ ? यस्ता समाचार लेख्ने र लेखाउनेहरुले सम्झन्छन् पाठकले जे लेखे पनि विश्वास गर्छन् र समाचार विकाउ बन्छ । अनि मेरो असफलताको लागि प्रार्थना गरेर बसेकाहरू यस्तै आधारहिन समाचारलाई लिएर धक फुकाएर गाली गर्न तम्सन्छन् र आफ्नो निहित स्वार्थ पुर्ति भएकोमा सन्तुष्टी लिन्छन । नियतबस यस्ता समाचार खोज्ने र समाचारलाई विकाउ वनाउन चाहने तथा यस्तै कुराहरूमा आत्मसन्तोष लिनेहरूप्रति मेरो केहि भन्नु छैन तर आम पाठक र मेरा शुभचिन्तकहरूले जसरी यस्ता अनर्गल प्रचारलाई पत्याएर अनेकन शंका र प्रतिकृया दिनुहुन्छ त्यतिवेला भने मन खिन्न हुन्छ ।

यो प्रकरणले प्रष्ट पारेको छ-केहि मानिसहरु संगठित रुपमा नै मलाई असफल बनाउन र मेरो चरित्र हत्या गर्न लागि परेका छन् । जव म सकारात्मक चिन्तनका साथ राष्ट्रिय महत्चका विषयमा काम गर्न थाल्छु त्यतिनैवेला त्यसलाई ओझेल पार्न कपोलकल्पित कथा रचिन्छन, अनलाईनहरूको दुरुपयोग गर्दै समाचार बनाइन्छन र सामाजिक संजालमा व्यापक रुपमा प्रसार गरिन्छन । मलाई विचलित गराउने र हतोत्साहि बनाउने प्रयासका साथ यस किसिमका षड्यन्त्र भइरहेका छन भन्ने कुरामा म स्पष्ट छु । यसपटक पनि म चुनौतीका साथ भन्न चाहन्छु-पर्दाभित्र बसेर षड्यन्त्रका कथा नरच्नुहोस । म सार्वजनिक जीवन व्यतित गरेको राजनीतिक व्यक्ति हुँ,सवै कुरा खुलस्त र पारदर्शी छ । यस्ता अनर्गल र कपोल्कल्पित कुरालाई प्रमाणित गर्न सक्नुहुन्छ म सामना गर्न सदैव तयार छु । अन्यथा पाठक र आम जनतालाई भ्रमित पार्ने खेति गरेर आफ्नो समय बर्वाद नगर्नुहोस । लोकतन्त्रले उपलव्ध गराएको प्रेस स्वतन्त्रता सत्यतथ्य सु-सुचित गराउनका लागि हो जनतालाई भ्रमित गर्न होईन ।

(गगन थापाको फेसवुक पेजबाट )

,