ब्राउन सुगरसहित पोखराबाट ६ जना पक्राउ

कास्की, जेठ १२ – पोखराबाट लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा उपमहानगरपालिका वडा नम्बर १२ सिंगापुरे टोलको एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङजाको चित्रे भन्ज्याङका २४ वर्षका उमेश ठकुरी तथा तनहुँ राईपुरका ३६ वर्षका धिरेन थापा, २९ वर्षका सुजन थापा, तनहुँ भानुमतिका २५ वर्षका चन्द्रबहादुर शाही, कास्की ढिकुरपोखरीका १९ वर्षका मेलिना बिक र बारा मोहडाका २४ वर्षका सोनालाल गिरी रहेका छन् ।
होटलको कोठा भाडामा लिई लागु औषधको बिक्री वितरण तथा कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको थियो । वडा प्रहरी कार्यालय रामबजारको सहयोगमा जिल्ला प्रहरी कार्यालयले लागु औषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले प्लाष्टिकमा ससाना पोका बनाई बेच्न राखेको एक सय ६७ ग्राम ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान थालिएको कास्की प्रहरीले जानकारी दिएको छ ।