मैनाले पनि हेर्दिहुन् आज आमाको मुख -दीपक विश्वकर्मा







मैनाले पनि हेर्दिहुन् आज आमाको मुख

आजफेरी धाम लाग्यो एकाबिहानै र
दिन झलमल्ल भयो
गौथलीहरुले थात छोडे
र बचेराहरुको चिरबिरसंग रमाउन थाले
सधै बिहान हुन्छ
सधै धाम उदाउँछ
चिसो सिरेटो जहिलेनी सरसराउँछ
सिवाय देवीको आगन
उनको दलिनमा रहेको गौथलीले
गीत गाउँदैन कहिल्यै
सायद शोक बारिहेको छ आजसम्म ।
हैन यो दिन किन उदाउँछ हँ ? दिनदिनै
बलेनी ओसारी र दलान पार गरेर घामको झुल्को
किन प्रवेश गर्छ हँ धुरीखाँवाको आसपासमा सधैभरी
यही धुरी खाँबो त हो
जहाँ तरो बानिएको हुन्थ्यो मदानी सहित
र नेती घुमिरहन्थ्यो देवीको हातसंगै
नौनीको डल्लो हात नलागेसम्म ।
मैना टुपुक्क बसेरै आमाको छेउमा
नियालिरहन्थिन् घुमिरहेको मदानी
नौनीको अनुपम स्वादको चाहना थिएन मैनालाई
नत, बाक्लो महीको चाहना नै राख्दथिन्
नौनी खार्दाको मगमगाउँदो वास्ना
कराइमा थेग्रिएको बिलौनीको चाम्री
उनका मनोरथहरु थिए
जो इतिहासमा विलिन भए ।
सपनाबाटै बौरिन्छिन् देवी कहिलेकाँही
बिर्सिन्छिन् समयको फेरो
सेताम्मै भएका कपालका केस्राहरु
साँघुरिँदै गएका हस्तरेखाहरु
हेक्का नै रहँदैन उनलाई
मुज्जा पर्दै गएका हाडछाला सहितका मांसपीण्डहरु
आजपनि
रात उही जस्तै लाग्दछ उनलाई
काखमा लपेटिएर निदाउँदै गरेकी छोरी
केहीपर सुस्ताइरहेका मैनाका बाउलाई
छामछुम छामछुम गर्दछिन् र
पुनः मुर्छा पर्ने गर्दछिन् पत्येक रात ।
कत्री हुँदीहुन मैना आज ?
हुँदीहुन् हिमाल जत्रै अग्ली र
लालीगुराँस जस्तै फुल्दिहुन् ढकमक्क
तगारो खोलेर आगन छिचोल्दै पुग्दिहुन् मझेरीसम्म
र धुरीखामोमा बाँधेर राखेको ठेकीसंग मुस्कुराउँदिहुन् ।
छोरीको आगमनमा गदगद आमालाई
अंगालो मार्दै निकै प्रेमासक्त भावले
आगनको डिलमा उभिएर संकेत गर्दै
दरौदी, ईन्द्रावतीका किनारहरु पार गर्दै
स्वेतभैरवीको चानमारी गर्दिहुन्
जो मान्छेको बली खाने गर्दछ आजपनि
शिवपुरीका खोच, कन्दरा र पहराहरु देखाउँदै
आमालाई अवगत गराउँदिहुन्—
हेर त आमा त्यो बाक्लो जंगल
जो आला मान्छेहरुको चिहान हो
ती चिहान भित्र
जीउँदा मान्छेहरु आजपनि छटपटाई रहेका छन्
र बौरी उठ्ने छन कुनै दिन—
सगरमाथा जस्तै सपना सजाउँदै ।