पोखरादेखि पूर्वतिरको भागमा हावाहुरीसहित वर्षा

काठमाडौं, जेठ ४-काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा अहिले हावाहुरीसहित पानी परिरहेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले पोखरा आसपासमा बनेको न्यूनचापीय क्षेत्रका कारण पोखराबाट पूर्वतिरको भागमा हावाहुरी पनि चलिरहेको मौसमविदले बताएका छन् ।
हावाहुरी काठमाडौंबाट पूर्वतिर सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले मध्य तथा पश्चिमी पहाडी भेगमा मेघगर्जन सहित पानी परेको मौसमविद शान्ति काँडेल बताउनुभयो ।
उहाँका अनुसार पोखरादेखि पश्चिमतिरको भागमा भने हावाहुरी चलेको छैन । अरु ठाउँमा बेलुका ६–७ बजेसम्म हावाहुरी चल्नसक्ने अनुमान गरिएकाले अस्थाई टहरामा बसेकाहरुले विशेष सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।