कक्षा १२ को परीक्षा सुरु, बाउन्सर राख्ने विद्यालयलाई कारवाही हुने

काठमाडौं, वैशाख २० – कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीका अनुसार बिहान ७ बजदेखि परीक्षा सुरु भएको हो । देशभर नौ सय २१ परीक्षा केन्द्र तोकिएको छ । वैशाख ३१ गतेसम्म सञ्चालन हुने परीक्षामा ८२ वटा विषयको परीक्षा हुनेछ । परीक्षामा तीन लाख ४६ हजार चार सय २७ जना परीक्षार्थी सहभागि हुने परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरिएको छ । परीक्षा सञ्चालन अवधीभर परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक र परिषद्बाट खटिएका जिम्मेवार व्यक्ति बाहेकका अरुलाई परीक्षा केन्द्रमा मोवाईल फोन लैजान पूर्ण रुपमा निषेध गरिएको छ । परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले परीक्षा अनगमनका लागि शिक्षा मन्त्रालयका सहसचिव, क्षेत्रीय उपनिर्देशक, क्षेत्रीय प्रशासक, जिल्ला शिक्षा अधिकारी लगायत मन्त्रालय मातहतका विभिन्न व्यक्तिको नेतृत्वमा ३१ वटा अनुगमन टोली बनाएर परीक्षाको अवलोकन गर्ने व्यवस्था गरिएको जानकारी दिनभयो । यस्तै उच्च माध्यामिक शिक्षा परिषद्ले परीक्षाको अनुगमनको साथै ६ सय ६९ वटा उच्च माविको पनि अनुगमन गर्ने भएको छ । शून्य नतिजा भएका, १० प्रतिशत भन्दा कम विद्यार्थी भएका र २ वर्षदेखि सञ्चालनमा नआएका उच्च माविहरुको समेत टोलीले अनुगमन गर्ने उपाध्यक्ष डा. शर्माले जानकारी दिनुभयो । यस्तै विद्यालयमा डिआईको नाममा बाउन्सर राखेर विद्यार्थीलाई त्रसित बनाउने गरेको पाइएमा त्यस्ता विद्यालयलाई समेत कारवाही गरिने परिषद्का सदस्य सचिव नारायण कोइरालाले बताउनुभयो ।
भूकम्प र तराई आन्दोलनका कारण यसवर्ष परीक्षा ढिला हुन गएपनि कक्षा १२ को नतिजा छिट्टै प्रकाशित गर्नेगरि तयारी समेत गरिएको छ । कक्षा ११ को परीक्षा भने आगामी जेठ २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।