सिंहदरबारमा प्रदर्शनले नागढुंगामा समेत गाडीको चाप

काठमाडौं जेठ, ३-संविधानप्रति असन्तुिष्ट जनाउँदै आएको मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले सोमबार पनि सिंहदरबार घेराउ गरेको छ । प्रहरीले सोमबार पनि सिंहदरबारभित्र र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा माइतीघरमा केहीबेर सामान्य झडप समेत भएको छ । गठबन्धनको प्रदर्शनका कारण काठमाडौं उपत्यकासहित मुख्य नाका नागढुंगामा गाडीको चाप छ । नागढुंगादेखि झ्याप्लेखोलासम्म गाडीको लाम लागेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै काठमाडौं उपत्यकामा पनि ट्राफिक जाम छ । विभिन्न ठाउँबाट गाडी डाइभर्सन गरिएको छ ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आएको गठबन्धनले यसअघि ६ महिनासम्म तराईमा आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेको हो । आफ्नो ११ बुँदे मागप्रति सरकार गम्भीर नभएको गठबन्धनको आरोप छ ।